शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

शनिबार, २१ माघ २०७९, १२ : ५०
शनिबार, २१ माघ २०७९

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौँको बुढानीलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

५० वर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मिर्गौला दिएकी हुन् । दुवै मिर्गौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरूले श्रीमती हितकुमारीको देब्रे मिर्गौला प्रत्यारोपण गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको बिदामा गत वैशाखमा नेपाल आएका थिए । नेपाल आएको केही समयपछि उनमा खुट्टा सुनिने लगायत समस्या देखियो । स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मिर्गौलामा समस्या देखिएपछि केएमसीमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

केएमसीले धनराजबाटै पहिलो पटक मिर्गौला प्रत्यारोपण थालेको हो । मिर्गौला प्रत्यारोपणका लागि केएमसीमा विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ । अब मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतेन्द्रनाथ श्रेष्ठले बताए । ‘विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर केएमसीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेका हौं,’ श्रेष्ठले भने, ‘पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ, अब यसलाई निरन्तरता दिन्छौँ ।’

मिर्गौला प्रत्यारोपणका लागि करिब एक दर्जन बिरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप