मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइँदैछ : रावल

शनिबार, २१ माघ २०७९, २० : ३६
शनिबार, २१ माघ २०७९

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए । 

नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिर समेत गरे । उनले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे। 

नेता रावलले भने, ‘आज मन्त्रीहरू हेरौँ त । जसको वैदेशिक रोजगार कम्पनी छ । उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महंगो छ । ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदलीय व्यवस्था ल्यायौँ । गणतन्त्र ल्यायौँ । यसको अभीष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए । आज हामी त्यही शिलशिलामा द्वारिकादेवी ठकुरानीको सम्झना गरिरहेका छौँ । तर आम निर्वाचनको दोस्रो अभ्यास गर्दै गर्दा हामी समाचार माध्यमामा पढ्छौँ–फलानो मान्छे त ज्यान मुद्दामा पो लागेको रहेछ । फरार छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने गृह मन्त्रालयले त विज्ञप्ती जारी गरेर मैले भनेको प्रहरीले मानेन भन्छ । अहिले पक्राउ परेर धनगढी गयो भनेर पनि हामी पढ्छौँ ।’

कार्यक्रममा बोल्दै काँग्रेस नेता एवम् पूर्व मन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसद्मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित भएको बताए । उनले राजनीतिक रूपमा हिजो देखिएका समस्याहरूलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको बताए । नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रूपमा पनि चित्रण गरे । काँग्रेस नेता लेखकले आफ्नो पार्टीले द्वारिकादेवी ठकुरानीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप