शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याउका बिरुवा लगाउँदा ध्यान दिन कृषि विज्ञहरूको सुझाव

सोमबार, २३ माघ २०७९, १० : ४०
सोमबार, २३ माघ २०७९

जुम्ला । जुम्लामा खासगरी पुसदेखि माघ महिनाको अन्त्यसम्म स्याउका बिरुवा लगाउने गरिन्छ । स्याउका बिरुवा लगाउनु पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञहरूले किसानहरूलाई सुझाव दिएका छन् । 

खाडल खन्दा एउटा स्याउको बिरुवादेखि अर्को स्याउका बिरुवासम्म कम्तीमा ५ मिटरको दुरीमा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

१/१ मिटर लम्बाइ, चौडाइ र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने उनको भनाइ छ ।अधिकारीका अनुसार खाडल खन्दा माथिल्लो सतहको माटो एकतर्फ र तल्लो सतहको माटो अर्को तर्फ राख्नु पर्ने हुन्छ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोस्ट मल, रासायनिक मल र माटो उपचार गर्ने विषादीहरू राम्रोसँग मिसाएर बिरुवा लगाउन उनको सुझाव छ।

कृषि विज्ञका अनुसार स्याउको बिरुवा विशेष गरी माघ र फाल्गुन महिनामा रोप्दा राम्रो मानिन्छ। प्राविधिक सल्लाह अनुसार स्याउका बिरुवा रोप्दा गुणस्तरीय फल र बगैँचा राम्रो देखिने उनले जनाए। फागुन महिनामा पालुवा पलाउने भएकाले त्यो भन्दा अगाडि नै स्याउका बिरुवा रोपिसक्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताए।

 स्याउका बिरुवा रोप्दा पाकेको गोठेमलाई माटोसँग मिसाएर हाल्दा राम्रो हुने अनुभव सुनाए। स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने महतकाे भनाइ छ।

धेरै भिरालो भएको जग्गामा स्याउ गाउँदा पानी बगेर जाने हुँदा स्याउका बिरुवामा सिँचाइ गर्न समस्या हुने भएकाले सम्म परेको जमिनमा बगैँचा निर्माण गर्दा सजिलो हुने उनीहरू बताउँछन् । बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट बिरुवा, झाडी, बुट्यान र गहुँ बाली नलगाउन सुझाव दिएका छन्। 

स्याउको बिरुवा रोप्नको लागि असोज र कार्तिक महिनामा खाडल खनेर राखेमा अझै उत्तम मानिने कृषि विज्ञहरूको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप