बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेशसभा

नेमकिपाद्वारा प्रमुख प्रतिपक्ष दल दाबी गर्दै सभामुखलाई पत्र

मङ्गलबार, २४ माघ २०७९, १३ : ३२
मङ्गलबार, २४ माघ २०७९

हेटौँडा । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै नेमकिपाले सभामुखलाई पत्र बुझाएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाएका हुन् ।

नेमकिपाले गत माघ ९ गते नै प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत माघ ३ गते सांसदबाट  विश्वासको मत लिँदा नेमकिपा बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले पक्षमा मत दिएकाले आफू विपक्षी दल भएको दाबी नेमकिपाको छ । सरकारको विपक्षमा मतदान गर्ने एउटै मात्र दल नेमकिपा नै भएकाले सभामुखसमक्ष दाबी पेस गरेको नेमकिपाले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (१) बमोजिम बागमती प्रदेश सभामा विपक्षी दलको नेता चयन गर्ने कानुनी व्यवस्था अनुसार नेमकिपालाई विपक्षी दल घोषणा गर्नुपर्ने नेमकिपा सांसद गोसाईंको भनाइ छ ।

प्रदेशसभामा निर्वाचित नेमकिपाबाहेक सबै दल मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरू भएकोले आफ्नो पार्टीलाई विपक्षी दल र दलको नेता घोषणा गर्न माग गरेको गोसाईंको भनाइ छ ।

उक्त विषयमा आइतबार बसेको सर्वदलीय बैठकमा कांग्रेस र नेमकिपाबीच विवादसमेत भएको थियो ।

बैठकमा नेमकिपा गोसाईंले आफूलाई विपक्षी दलको नेता घोषणा गर्न माग गरेपछि कांग्रेस सांसदले विरोध गरेका थिए । कांग्रेसका सांसदले सरकारलाई आफूहरूले समर्थन नदिएको विश्वासको मत मात्रै दिएकाले केन्द्रकै अनुसार कांग्रेस विपक्षी दल भएको बताएका थिए ।

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) अनुसार विपक्षी दल र नेता भन्नाले दलले संसदीय दलको नेताका रूपमा छानेको व्यक्ति रहने छ भने मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेक प्रदेश सभामा सबै भन्दा बढी सदस्य भएको दल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप