शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

डिल्लीबजार कारागारमै रेशम चौधरीको निगरानीमा सांसद !

बुधबार, २५ माघ २०७९, १५ : २७
बुधबार, २५ माघ २०७९

काठमाडौँ । यतिबेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी टीकापुर घटना संलग्नता आरोपमा डिल्लीबजार कारागारमा छन् । कारागारबाटै उनले पार्टी हाँकिरहेका छन् । तर सुन्दा अचम्म लाग्न सक्छ, उनै रेशमले डिल्लीबजार कारागारमै सुदूरपश्चिम प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदलाई निगरानीमा राखेका छन् । 

साधारणतयाः डिल्लीबजार कारागारमा १० बजेपछि कैदीबन्दी भेट्न पाइन्छ । तर नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसद आज बुधवार बिहान आठैबजेखि रेशमको निगरानीमा कारागारमा छन् । पार्टीका एक वरिष्ठ पदाधिकारीका अनुसार पार्टीका सांसद दायाँ बायाँ नहोऊन् भनेर यो निगरानी एक सातादेखि जारी रहेको हो ।

यसै क्रममा बुधवार हुने भनिएको सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो । 

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित भएको हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

अव मुख्यमन्त्री रावलले भोलि बिहीबार बस्ने बैठकमा विश्वासको मत लिनेछन् । यसका लागि नागरिक उन्मुक्ति पार्टीले आफ्नो मुद्दाको सम्बोधन हुने बटम लाइन मागेको छ । नागरिक उन्मुक्ति पार्टीका ती वरिष्ठ पदाधिकारीका अनुसार रेशम चौधरीलगायत टीकापुरका राजबन्दीहरुको रिहाइ पहिलो बटम लाइन हो । तर यो बाहेक सरकार समर्थन बापत रेशमले मुख्यमन्त्री रावलसँग आर्थिक लेनदेनको कुरा समेत गरेका छन् । 

पार्टी चलाउन गाह्रो भएको भन्दै सहयोग गरे समर्थन गर्न सजिलो हुने भनेर चौधरीले आफू र प्रतिनिधिमार्फत छलफल चलाइरहेको ती वरिष्ठ अधिकारीको दाबी छ । एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि  विश्वासको मत लिनैपर्ने हुन्छ । 

‘मुख्यमन्त्री रावलले अब रेशम चौधरीको माग सम्बोधन गर्न सकेको खण्डमा मात्रै त्यसमा नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने विश्वास गर्न सकिन्छ’, ती अधिकारीले भने । प्रदेशसभामा सत्ता पक्षीय नेकपा एमालेका दश, माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य छन् ।  विपक्षमा रहेको नेपाली काँग्रेसका १९, नेकपा एसका चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।

यतिबेला नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए सरकार ढल्ने तथा नेपाली काँग्रेस र उन्मुक्तिको सरकार बन्ने आकलन गरिए पनि यस दिशामा जाने अवस्था भने अझै सिर्जिएको छैन । कारण, रात रहे अग्राख पलाउँछ भन्छन् । त्यही अग्राख पलाउने वातावरणका लागि रेशमले आफ्ना पार्टीका सांसदलाई कारागारमै राखेर माघको जाडो भगाउन धुनी जलाइरहेका छन् ।

उसो त रेशमको पार्टीले सभामुख चयनमा समेत पटक पटक असहयोग गर्दै आएको थियो । निकै पटकको प्रयासपछि मात्रै सत्ता साझेदार दलको तर्फबाट सभामुखमा भीम भण्डारी चयन भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप