बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

बत्तिसपुतलीमा भोज खाएर निस्केका पुरुषको रातोपुलमा लगेर हत्या

आरोपी पक्राउ
बुधबार, २५ माघ २०७९, १९ : २६
बुधबार, २५ माघ २०७९

काठमाडौं । काठमाडौंको बत्तिसपुतलीमा भोज खाएर निस्केका पुरुषको हत्या भएको छ । मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनेर निस्केका ध्रुव खड्कालाई अपरिचित युवकले ‘घर लगिदिन्छु’ भनेर रातोपुलमा लगेर हत्या गरेका हुन् ।

पर्सा घर भएर कपन बस्ने करिब ५५ वर्षका खड्का ‘पार्टी’बाट मूल सडकमा निस्केका थिए । मापसे गरेका उनलाई ‘घर लगिदिन्छु’ भनेर अपरिचित युवकले ट्याक्सिमा चढाए । प्रहरीको अनुसन्धानबाट ती युवक चितवन घर भएर कपन बस्ने राम थापा रहेको थाहा भएको छ ।

रातोपुल नजिक पुगेपछि खड्कालाई ट्याक्सिबाट उतारेर थापाले ट्याक्सिलाई फिर्ता पठाइदिए । ट्याक्सिबाट उतारेर कुटेर बीभत्स तरिकाले उनको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

मूल सडकबाट केही मिटर भित्र गल्लीमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको र त्यसपछि छातीमा लात्तिला हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले राम थापालाई पक्राउ गरेको छ ।

लुट्ने उद्देश्य

राम थापा रातभर ठमेल र दरबारमार्ग क्षेत्रमा गाँजा बेच्छन् । लागुऔषध दुर्व्यसनीको लतमा परेका थापा साइकलमा गाँजा बेच्दै बत्तिसपुतली पुगेका थिए । ध्रुव मापसे गरेर हिँडेको र एक्लै देखेपछि लुट्ने नियतले उनले रातोपुलमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि ध्रुवको पर्स, मोबाइल र कम्मर पेटी उनले लिएर हिँडेका थिए । हत्यापछि बागबजार क्षेत्रमा घुमेर राति १ बजेतिर घटनास्थलमा पुगेर उनले मृत्यु भएको वा नभएकोबारे यकिन गरेका अनुसन्धानबाट खुलेको छ ।

आरोपीलाई कपनबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप