पाल्पाको रम्भा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई खुवाउँछ आफ्नै उत्पादन ‘च्यावनप्राश’
रुपन्देही । यस क्षेत्रमा पहिलो पटक पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट च्यावनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यावनप्राश’ उत्पादन गरेको हो ।
पौष्टिक आहारका रूपमा प्रयोग हुने च्यावनप्राश गाउँमै पाइएका विभिन्न खालका जडीबुटीबाट तयार गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले बताए । पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा वितरण गर्ने गरी च्यावनप्राश उत्पादन गरिएको उनले जानकारी दिए ।
रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यावनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको कविराज आचार्यले बताए । उत्पादन गरिएको च्यावनप्राशमा अमलासहितका ४४ वटा जडीबुटीको मिश्रण रहेको छ । मिश्रण गरिएका जडीबुटीको मापदण्ड तयार गरेर बनाइएको र यसको सेवनबाट स्वास्थ्यका लागि फाइदा हुने केन्द्रको भनाइ छ ।
हालसम्म ४०० किलोग्राम च्यावनप्राश उत्पादन भइसकेको पालिकाले जनाएको छ । च्यावनप्राश उत्पादन तथा निर्माणका लागि पालिकाले आवश्यक बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले उल्लेख गरे । गाउँमा रहेका जडीबुटी तथा वनस्पतिबाट च्यावनप्राश उत्पादन गरेर ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गरिएको उनले जानकारी दिए । बजारबाट खरिद गर्दा बढी मूल्य र गुणस्तरमा पनि समस्या हुने भएकोले कम लगानीमा पालिकाले नै उत्पादन गरेको उनको भनाई छ ।
उत्पादन भएको च्यावनप्राशको उपयोगले ज्येष्ठ नागरिकमा भएका बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसो लाग्ने समस्या समाधान गर्न सहयोग पुग्ने आयुर्वेदका चिकित्सकको भनाई छ । पालिकाले उत्पादन गरेको च्यावनप्राश हाल पालिकाभित्रका ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ ।
पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यावनप्राश वितरण गर्ने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए । पालिकामै उत्पादन भएको च्यावनप्राशको प्रयोगबाट ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने उनको विश्वास छ । व्यावसायिक रूपमा उत्पादन गर्ने भन्ने विषयमा भने हालसम्म कुनै योजना नरहेको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी