बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पन्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी १७ महिनामै विघटन

बिहीबार, २६ माघ २०७९, १५ : ११
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १७ महिनामै विघटन भएको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह पुरा कार्यकाल पुरा गर्न नपाउँदै १७ महिनामै बिदा भएकी छन् । 

माओवादी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको विवाद छताछुल्ल भएको भन्दै कमिटी विघटन गरेर आयोजक कमिटी बनाउने निर्णय गरेको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव सन्निकट आएकाले एक ढिक्का भई सङ्गठन चुनावमा लाग्नुपर्ने भएकाले कमिटी विघटन गरिएको खतिवडाले बताए ।

अखिल क्रान्तिकारीको विधान बमोजिम हरेक २ वर्षमा सम्मेलन हुने व्यवस्था छ । २०७८ साल भदौमा २२ औ राष्ट्रिय सम्मेलनबाट सिंह अध्यक्षमा चयन भएकी थिइन् । अखिल क्रान्तिकारी भित्रको गुटबन्दी र अराजकता कारण सिंहको कार्यकाल २ वर्ष पुरा हुन नपाउँदै विघटन भएको छ । सिंहको कार्यकाल सकिन अझै ७ महिना बाँकी छ । तर, सङ्गठनभित्र सिंहले नेतृत्व गर्न सक्ने अवस्था नभएपछि उनलाई आयोजक समितिको संयोजक बनाएर कमिटी विघटन गरिएको खतिवडाले बताए ।

‘अखिल क्रान्तिकारी भित्र पन्चा सिंह र पवन कार्की समूहले समानान्तर कमिटी बनाएर गतिविधि कायम राखेका छन् । त्यसमा सिंह नेतृत्वकै कमिटीका ७ जना उपाध्यक्षले छुट्टै गुट बनाएपछि अखिल क्रान्तिकारी एक ढिक्का रहन सकेन’ खतिवडाले भने, ‘अब स्ववियू चुनावमा सङ्गठनलाई एकीकृत र एक ढिक्का बनाउन सिंह नेतृत्वको कमिटी विघटन गरेर उनलाई आयोजक समिति संयोजक बनाइयो । अरू सबै कमिटी विघटन गर्ने निर्णय भयो ।’

तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको कार्यकाल सकिएपछि अध्यक्षका लागि आधा दर्जन नेताहरूले इच्छा देखाएका थिए । ती आधा दर्जनमा महिला तर्फबाट सिंह समेत दाबेदार थिइन् । सङ्गठनको अध्यक्ष पदका लागि सशक्त दाबेदारमा सुरेन्द्र बस्नेत, तिलक भण्डारी, विजय गौतम, दीपक देवकोटा, उत्तम अधिकारी लगायतका नेताहरू थिए । महिला नेतृत्व स्थापित गरेमा सङ्गठन बलियो हुने निष्कर्ष निकाल्दै अध्यक्ष प्रचण्डले अरू अध्यक्षका दाबेदारलाई केन्द्रीय समितिमा समेटेर सिंहलाई अध्यक्षमा चयन गरेका थिए । सिंह अध्यक्षमा चयन भएपछि सङ्गठन हराभरा हुँदै जानुपर्नेमा उल्टै विवाद र कचिङ्गल थपिँदै गयो । 

पवन कार्की समूहले असन्तुष्ट जनाउँदै समानान्तर कमिटी गठन गर्न थालेपछि विवाद चर्किँदै गयो । उनकै कमिटीका ७ उपाध्यक्षले समेत सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै विरोध गर्न थालेपछि सिंह अप्ठ्यारोमा परेकी हुन् । सो सङ्गठनमा अराजकता र भद्रगोल हुँदै जान थालेपछि पार्टीले हस्तक्षेप गरी सबै कमिटी भङ्ग गरेर आयोजक कमिटीमा रूपान्तरण गरेको हो । आगामी चैत ५ गते हुने स्ववियू चुनावपछि उक्त सङ्गठनको सम्मेलन गर्ने गरी आयोजक कमिटीमा रूपान्तरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप