शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अध्ययनसँगै च्याउ खेतीमा व्यस्त कलेजका यी विद्यार्थी

सोमबार, ०१ फागुन २०७९, ११ : १३
सोमबार, ०१ फागुन २०७९

कैलाली । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् ।  उनी अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफै व्यवस्थापन गर्दै आएकी छन् । 

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन् । “भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने”, विपनाले भनिन्, “च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।”

समूहमा जोडिएका अछाममा रमेश साउँद मङ्गलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छन् । उसो त उनीहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पुर्‍याउँछन् । उनीसँगै एकदुई जना अन्य साथीहरू पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन पनि ।  

प्रतिकेजी रु एक सय २० मा च्याउ बिक्री हुने गरेको उनले बताए । “बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ ।“ रमेशले भने, “आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।“ प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उनीहरुले च्याउ उत्पादन सुरु गरेका हुन् । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् ।

आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैशीले बताए । “आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि । कुवेरले भने , “उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका  छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ ।”

उनीहरुले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाएका छन् । बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन्  । फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देलले बताए “हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ”, अर्जुनले भने, “कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।”
   
यसभन्दा पहिले उनीहरुले फूल खेतीसमेत गरेका थिए। फूल खेतीबाट रु ५० हजार आम्दानी गरेको आशिष धामीले बताए ।
 
कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उनीहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप