बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

जिल्ला कमिटीमा पनि नपरेपछि माओवादी नेतृले त्यागिन् पार्टी

सोमबार, ०१ फागुन २०७९, १२ : ०८
सोमबार, ०१ फागुन २०७९

दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् । 

 वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको रातोपाटीलाई जानकारी दिइन् । 

‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ’, उनले रातोपाटीसँग भनिन्, ‘अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’ माघ २२ गते माओवादी केन्द्रले केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिसहितको सूची टुङ्गो लगाएको थियो । त्यसमा मात्रै नभएर जिल्ला कमिटीमा समेत आफूलाई नराखिएको उनको गुनासो छ । 

उनका श्रीमान् तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् । 

नेकपा विघटन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनीमा शङ्कर पोखरेलको सरकार ढलेपछि उनी माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् । राज्यमन्त्री हुँदा उनी विवादमा समेत तानिएकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप