बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ताका परिवारलाई न्याय दिन सरोकारवालको माग

सोमबार, ०१ फागुन २०७९, १९ : २३
सोमबार, ०१ फागुन २०७९

रुपन्देही । जनयुद्धको बेला राज्यद्वारा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारलाई न्याय दिनुपर्ने सरोकारवालाले माग गरेका छन् । 

२८औंं जनयुद्ध दिवसको अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बुटवलमा गरेको अन्तरक्रियामा विभिन्न दलका नेताहरुले सशस्त्र द्वन्द्वको जगमा नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन  भएपनि युद्धमा मारिएका र बेपत्ताको परिवारका माग सम्बोधन गर्न सरकारले नसकेको बताए ।

संविधानसभा सदस्य सावित्री दुराले सशस्त्र युद्धको बेला राज्यद्वारा बेपत्ता व्यक्तिहरूको सार्वजनिक गर्न माग गरेकी छन् । युद्धका क्रममा एक हजार ९६ जना बेपत्ता भएको पार्टीमा तथ्यांक रहेको उनले दाबी गरिन् । आफ्ना पति अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलले २०५९ साल वैशाख १३ गतेदेखि बेपत्ता भएको उल्लेख गर्दै दुराले बेपत्ताहरूको अवस्था सार्वजनिक नहुँदा परिवारजन पीडामा बाँच्न बाध्य भएको बताइन् ।

‘राज्यले बेपत्ताको कि सास दिनुप¥यो कि लाश दिनुप¥यो’,दुराले भनिन्,‘एकजना हैन दुईजना हैन झण्डै एघार सय जना नागरिक बेपत्ता छन्, यति ठूलो संख्यामा देशका नागरिक बेपत्ता हुँदा उनीहरुका परिवारप्रति सरकार संवेदनशील हुनुपर्दैन ?’

नेतृ दुराले बेपत्ता व्यक्तिका परिवारहरू जीविकोपार्जन, शिक्षा दीक्षा र रोजगारी जस्ता वहुआयामिक समस्याबाट गुज्रिन बाध्य भएको बताइन् ।

नेपाली सेनाबाट पति मारिएकी बुटवलकी जया पौडेलले माओवादी युद्धमा मारिएकालाई सरकारले राष्ट्रिय शहीद घोषणा गरी सम्मान दिनुपर्ने बताइन् । सरकारले दिएको १० लाखले युद्धमा ज्यान गुमाएकाको परिवारको जीविकोपार्जन हुन नसक्ने उनले गुनासो गरिन् । ‘सरकारले शहीद परिवारको जीविकोपार्जन, रोजगारी र बच्चाहरूको शिक्षादीक्षामा कुनै चासो दिएको छैन’,उनले भनिन् ।

कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एवं पूर्व लुम्बिनी इन्चार्ज वसन्त श्रेष्ठ, रुपन्देही इन्चार्ज शरद वली, माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जीसी, लेखक दिल साहनी लगायतले बोल्दै माओवादी सशस्त्र युद्धमा ज्यान गुमाउने र बेपत्ता हुनेहरुका परिवारको जीविकोपार्जन, रोजगारी लगायतका विषयमा सरकार संवेदनशील हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप