शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धका घाइते ‘ड्राइगन’, जो दुई दशकदेखि फोक्सोमा छर्रा बोकेर बाँच्दै छन्

सोमबार, ०१ फागुन २०७९, २२ : १२
सोमबार, ०१ फागुन २०७९

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ बसन्ताका पतिराम चौधरी ‘ड्राइगन’ (४८) दस वर्षे सशस्त्र जनयुद्धको विगत सम्झिदा एकाएक भावुक बने ।  आफूलगायत हजारौंले प्रत्यक्ष लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति गर्न पाउँदा उनको छाती गर्वले ढक्क फुल्छ । तर, त्यही छाती क्षणक्षणमै पीडाले दुखिरहँदा उनको मन रोएर आउँछ । 

शरीरका अंगहरुमा प्राण वायु सञ्चार गर्ने फोक्सो वर्षौदेखि बुलेटको विषले थिचिरहँदा उनी जीवन मरणको दोसाँधमा रहेको अनुभूति गर्छन् । ड्राइगन तत्कालीन माओवादीका सैन्य कमाण्डर हुन् । युद्धको मोर्चामा १५ गोली छातीमै थापेर युद्धबाट विश्राम लिए उनले । भन्छन्, ‘युद्ध लडियो, देशमा आएको नयाँ शासन व्यवस्थाले खुशी पनि लाग्छ । तर हामी जस्ता जनताको लागि आएको व्यवस्थाले अवस्था परिवर्तन हुन नसक्दा दुःख लाग्छ ।’ 

२० वर्ष भयो, टाउको र हातमा बमका छर्रा छन् । फोक्सोमा बन्दुकको गोली । राज्यबाट पाउँदै आएको जीवन निर्वाह भत्ता पनि कटौती हुँदा उनी दुःखी छन् ।  स्कूले जीवनदेखि नै तत्कालीन माओवादी निकट गोचाली परिवारमा संलग्न थिए ड्राइगन । २०४८ सालमा कक्षा ८ मा पढ्दै गर्दा गोचाली परिवारमा आवद्ध भएको बताउने उनी २०५२ फागुन १ गते सुरु भएको सशस्त्र जनयुद्धमा होमिए । युद्ध चर्किदै गर्दा २०५६ सालमा भूमिगत भए । विद्रोही स्वाभावका उनी सुरुदेखि नै सैन्य दस्तामा आवद्ध भए ।

माओवादीको जनमेलिसियाबाट आफ्नो विद्रोही सैन्य जीवन सुरु गरेका उनी स्क्वाइट, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन कमाण्डरसम्म भए । ३ पटक शाही नेपाली सेनासँग दोहोरो भीडन्त हुँदा घाइते भएका उनी ४० बढी ठूला घटनामा आफू संलग्न भएको सम्झिन्छन् । 

होश खुल्दा अस्पतालमा 
पहिलो पटक २०५८ मंसिर ११ गते दार्चुलाको गोकुलेश्वरमा प्रहरीको चौकी कब्जा गर्ने क्रममा उनको दायाँ हातमा बमको छर्रा लागेको थियो । हातमा बमको छर्रा अझै छन् । तैपनि आफू युद्धबाट भने विश्राम नलिएको सुनाउँछन् ।
केही समयपछि म्याग्दीको बेनीमा आक्रमण गर्दा पुनः घाइते भए ड्राइगन । बेनी घटनामा बमको छर्रा टाउकोमै लागेको र २ वटा छर्रा झिक्न नमिल्ने भएपछि अहिलेसम्म उनको टाउकोमै छर्रा छ । ती २ घटनाले पनि उनी युद्धको मोर्चाबाट पछि हटेनन् । 

२०५९ फागुन १४ गते विहान ८ बजे कैलालीको गौरीगंगा नगरपालिकास्थित बडैपुरमा ड्राइगनआवद्ध जनमुक्ति सेनाको बटालियन र शाही नेपाली सेनाको बटालियनबीच दोहोरो भीडन्त भयो । त्यो दिनको घटना स्मरण गर्दै उनले भने, ‘एका बिहानै भीडन्त सुरु भए लगत्तै सँगै रहेका एक जनालाई सेनाको गोली लाग्यो । उनी त्यही ढले । उनको बन्दुक र उनलाई अन्यन्त्र लैजान खोज्दा पछाडिबाट सेनाको १५ गोली छातीमै बर्सियो । 

भन्छन्, ‘बेहोस भएर त्यहीँ ढलेछु । साथीहरुले बोकेर जंगलमा लगे । २ दिनपछि भारतको लखनउस्थित नुवा हस्पिटलमा लगिएछ । १० वटा बुलेट झिकिएछ । होश खुलेपछि आफूलाई अस्पतालको शैयामा पाएँ ।’

दुखिरहन्छ घाउ
थप उपचारको लागि उनलाई सो अस्पतालले दिल्लीको बतरा हस्पिटलमा रेफर गर्यो । एमआरआई गर्दा उनको फोक्सोबाट अझै ५ गोली झिक्न बाँकी थियो । दिल्लीस्थित सो अस्पतालले फोक्सोमा रहेको बाँकी ५ गोली झिक्न नमिल्ने सुझाएछ । त्यस दिनदेखि उनी ५ गोली फोक्सोमै बोकेर हिँड्न बाध्य छन् ।

युद्धविरामसँगै माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जनयुद्धका घाइतेका रुपमा राज्यबाट मासिक ६२ सय रुपैयाँ जीवन निर्वाह भत्ता पाउँदै आएका थिए । यसले औषधिमूलोमा केही राहत हुन्थ्यो । तर, त्यही जीवन निर्वाह भत्ता रकम पनि गत वर्षदेखि बन्द भएपछि उनलाई जीविकोपार्जनमा समस्या हुँदै आएको छ ।

उनले दुखेसो पोखे,  ‘मेरो फोक्सो र टाउकोमा भएको घाउ कसैले देख्दैनन् । गह्रौँ काम गर्न सकिन्न । परिवारको आश्रयमा बस्नु परेको छ । यो जाडोमा त झनै घाउ दुख्छ । कहिलेकाहीँ त झनै रक्तश्राव नै हुन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप