आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको ठूलो जनशक्ति श्रम बेच्न विदेश पलायन भयो : स्वास्थ्यमन्त्री गिरी

बुधबार, ०३ फागुन २०७९, १४ : ४४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपालको ठुलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठुलो सङ्ख्यामा युवाहरू भारतका विभिन्न सहरमा गइरहेको बताउँदै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय भएको बताएका हुन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पुर्याउन नसक्नु दुःखको कुरा भएको बताए । ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरूमा बिस्तारै नियोजन गरिँदै छ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारी पट्टी जाने र भारतका विभिन्न सहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठुलो धनराशि खर्च भइरहेको छ । यो सबैले महसुस गरेको कुरा हो’, उनले भने  

उनले प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिने तर त्यही शिक्षा लिन युवापुस्ता विदेश जाने, पुँजी पलायन हुने क्रम नरोकिएको बताए । ‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई  विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौँ’, उनले भने, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’

परिषद्ले सीमित रूपमा भए पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मन्त्री गिरीले बताए । ‘परिषद्ले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पुर्याउनेमा म विश्वस्त छु’, उनले भने  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप