बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
शिवरात्रि

महाशिवरात्रि : पशुपति क्षेत्रको सवारी व्यवस्थापन गर्न ७ सय ट्राफिक परिचालन

कोटेश्वर र चाबहिलबाट ठुला सवारीलाई निषेध
शुक्रबार, ०५ फागुन २०७९, १६ : ०१
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । फागुन ६ मा (शनिवार) आयोजना हुने महाशिवरात्रि पर्वमा गौशाला क्षेत्रमा ठुला सवारीलाई प्रवेश निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार मध्यरातबाट नै ठुला सवारी साधन सो क्षेत्रमा प्रवेश गर्न नदिनेगरी ट्राफिक ‘व्यवस्थापन योजना’ बनाएको छ । 

शुक्रवार राति १२ देखि शनिवार साँझ ६ बजेसम्म ६ पाङ्ग्रे र मालवाहक सवारी साधनलाई पशुपति क्षेत्रमा प्रवेश गर्न नदिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । भट्ट भन्छन्,‘ठुला सवारीलाई चाबहिल, कोटेश्वर र तीनकुनेमा रोक्छौं ।’ 

ट्राफिक प्रहरीले पशुपतिमा दर्शन गर्नेहरूको चाप हेरेर पहिलो चरणमा सिनामंगल, पुरानोबानेश्वर, रातोपुल र मित्रपार्क क्षेत्रबाट सवारी डाइभर्सन गर्ने भएको छ । दर्शनार्थीको चाप बढेपछि चाबहिलबाट गौशालातर्फ र पुरानोबानेश्वरबाट गौशाला आउने सवारीलाई निषेध गर्ने निर्णय गरिएको छ । 

‘करिब १२ स्थानबाट गौशालामा आउने सवारी साधनलाई डाइभर्सन गर्छौं’ एसएसपी भट्ट भन्छन्,‘ज्ञानेश्वर, द्वारिका होटल, सिफल चौर र लामापोखरी हुँदै गौशाला आउने सवारीलाई डाइभर्सन गर्छौं ।’ 

गौरिघाटबाट उमाकुण्ड र मित्रपार्क तिर जाने सवारीसाधन र तिलगंगाबाट गौशाला जाने सवारीलाई आवागमनमा निषेध गरिने छ । मालबाहक सवारी सधान तिनुकनेबाट सिनामंगलतिर जान पाउँदैनन् । सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्कने मार्गमा पनि सवारी चल्न नदिने गरि कार्ययोजना तयार गरिएको छ । 

जोरपाटी, बौद्धबाट आउने मालवाहक सवारी साधनलाई चुच्चेपाटीबाट चावलिह तर्फ डाइभर्सन गरिने भएको छ । 

रत्नपार्कबाट चल्ने बस र माइक्रोबसहरु तिलगंगा पुगेपछि सोही रुटबाट फिर्ता हुनुपर्ने छ । रत्नपार्कबाट लाजिम्पाट हुँदै साँखु जाने बस र माइक्रोबस त्यहि बाटोबाट फर्किनेगरी कार्ययोजना स्वीकृत गरिएको एसएसपी भट्टले जानकारी दिए । उनले भने,‘कालापुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग हुँदै महराजगञ्जबाट चल्न पाउँछन् ।’ 

सुन्धाराबाट बौद्ध चल्ने माईक्रोबस र टेम्पोहरु कृष्णपाउरोटी बाट नक्साल हुँदै चाबहिल गणेशस्थान निस्कनुपर्ने छ । जोरपाटीबाट सुन्धारा आउने माईक्रोबस र टेम्पोहरु नारायणगोपाल चोक हुँदै केशरमहलबाट चल्न पाउनेछन् ।

जोरपाटीबाट महाराजगञ्ज जाने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट भृकुटीचोक हुँदै सुकेधारा तर्फ  डाइभर्सन गरिएको छ । कोटेश्वरबाट सुकेधारा जानुपर्ने मालवाहक सवारी सातदोवाटो र कलंकी घुमेर जानुपर्नेछ । कोटेश्वरबाट पशुपति वरपर जानुपर्ने मालवाहक सवारीलाई शिवरात्रीको मेला अवधिभर तीनकुनेमा होल्ड गरिने एसएसपी भट्टले बताए । 

७ सय ट्राफिक

शनिवार शिवरात्रि मेला अवधिभर पशुपति क्षेत्रमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ७ सय ट्राफिक परिचालन गर्ने भएको छ । पशुपति मन्दिर परिसरमा कमाण्ड सेन्टर तयार गरेर प्रहरी नायव उपरीक्षक (डिएसपी)ले ट्राफिक व्यवस्थापनको कमाण्ड गर्नेछन् । 

‘करिब ७ सय ट्राफिक परिचालन गर्छौं’ एसएसपी भट्टले भने,‘पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापनको कमाण्ड डिएसपीले गर्नेछन् ।’ 

पशुपतिमा दर्शन गर्न जानेहरुले लगेका सवारी साधनलाई ६ ठाउँमा पार्किङ गर्ने व्यवस्था गरिएको छ । सिफल चौर, गुहेश्वरी पारी, पशुपति विकाश कोषको कार्यालय र भण्डारखालमा पार्किङ गर्न पाइने छ । तिलगंगा आँखा अस्पताल अगाडी र बनकाली क्षेत्रमा पनि पार्किङ गर्न सकिने एसएसपी भट्टले बताए । 

तोकिएको पार्किङ स्थलमा तीर्थयात्री, पास वाहक सवारी र शिविर सञ्चालन गर्ने संघ संस्थाहरुले पार्किङ गर्न पाउनेछन् । दमकल र एम्बुलेन्स बनकाली क्षेत्रमा पार्किङ गर्नुपर्ने छ । सुरक्षाकर्मी र पास वाहक सवारीलाई भण्डारखाल र कोषको कार्यालयमा पार्किङ गर्न दिने निर्णय गरिएको छ । 

 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप