शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारी विघटन भए नभएकोबारे दुविधा

बुधबार, १० फागुन २०७९, १६ : ५१
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विघटन भए नभएको विषयमा दुबिधा उत्पन्न भएको छ । गत माघ अन्तिम साता भएको स्थायी समिति बैठकले विघटन गरे पनि विद्यार्थी नेताहरूले आफू अनुकूल व्याख्या गर्न थालेका छन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह पक्षले पार्टीले सङ्गठन विघटन नगरेको भन्दै खण्डन गर्दै आएको छ ।

सङ्गठनमा समानान्तर कमिटी चलाएको पवन कार्की पक्षले भने कमिटी विघटन गरेर आयोजक समिति बनाएको बताउँदै आएको छ । त्यसैमा पार्टीका नेताहरूले समेत आफू अनुकूल व्याख्या गर्न थालेपछि अखिल क्रान्तिकारीका नेताहरू अन्योलमा परेका हुन् । आगामी चैत ५ गते स्ववियू निर्वाचन आउन लागेकाले एउटै सङ्गठनमा दुई थरी धारणा आउन थालेपछि समस्या हुने देखिएको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले कमिटी बनाएपछि असन्तुष्ट नजाउँदै कार्कीले कमिटी बनाएका थिए । सिंह पक्षलाई चुनौती दिँदै कार्की पक्षले समानान्तर कमिटी बनाएपछि सङ्गठन दुई चिरामा विभाजित भएको हो । त्यसैमा सिंह पक्षका ७ जना उपाध्यक्षले असन्तुष्ट जनाउँदै सार्वजनिक रूपमा विज्ञप्ति जारी गरेपछि सङ्गठन तीन गुटमा विभाजित भएको थियो । सङ्गठन एक ढिक्का हुनुपर्नेमा उल्टै एकपछि अर्को गर्दै गुटबन्दीको सिकार हुन थालेपछि पार्टीले पहल लिएर आयोजक कमिटी बनाएर एक ढिक्का बनाउने योजना बनाएको हो ।

पन्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टीले विद्यार्थी सङ्गठन विघटन नगरेको जिकिर गरे । ‘अहिलेको स्ववियू निर्वाचनसम्म दुवै पक्षलाई मिलाएर एक ढिक्का बनाएर लग्ने हो । स्ववियू निर्वाचनपछि विद्यार्थी सङ्गठनलाई आयोजक कमिटी बनाएर सम्मेलनतिर लग्ने हो’ रातोपाटीसंग कुरा गर्दै एमसीले भने, ‘अहिल्यै कमिटी विघटन गरेमा कसरी स्ववियू चुनावमा जान सकिन्छ ? दुई चिरामा विभाजित भएको सङ्गठनलाई आयोजक कमिटी बनाएर सम्हाल्न सकिँदैन । अहिले सबैलाई एक ठाउँमा राखेर स्ववियू चुनावमा जान्छौँ ।’ अखिल क्रान्तिकारी जिम्मेवार सङ्गठन भएकाले चुनावबाट भाग्न नमिल्ने एमसीले बताए ।

स्ववीयु चुनावमा कार्की समूहले समानान्तर कमिटी बनाए नतिजा राम्रो नआउने एमसीले बताए । ‘हामी सङ्गठन मिलाउन र एक ढिक्का बनाउन लागि परेका छौँ । त्यसमा उहाँहरूले सहयोग गर्नुपर्छ’ एमसीले भने, ‘तर आफू अनुकूल व्याख्या गर्दै सङ्गठनमा अराजकता मच्चाउन थाल्नुभयो । आफू अनुकूल उम्मेदवार उठाउन थाल्नुभयो भने सैह्य हुँदैन ।’ यदि कार्की समूहले समानान्तर कमिटी बनाएर चुनावमा गएमा पार्टी र सङ्गठन दुबैबाट निकालिने एमसीले बताए ।

तर, अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाएका पवन कार्कीले स्थायी समितिले विद्यार्थी सङ्गठन विघटन गरेर आयोजक समिति बनाइसकेको बताए । स्थायी समिति बैठकबाट दुवै कमिटीलाई विघटन गरेर आयोजक  समिति बनाएर जाने निर्णय गरिसकेको छ । पार्टीले गरेको निर्णय मान्ने वा नमान्ने भन्ने उहाँहरूको हो । मुख्य कुरा पार्टीले निर्णय गरिसकेको छ’ कार्कीले भने, ‘हामी पार्टीको निर्णय कार्यान्वयनको पक्षमा छौँ । पार्टीको निर्णय छिटो कार्यान्वयन हुनुपर्यो ।’  अब स्ववियू चुनाव आइसकेकाले सङ्गठनलाई एकता बनाएर लग्नुपर्ने कार्कीले बताए । ‘हामीले जुन कुरा उठाउँदै आएका थियौँ त्यसलाई पार्टीले सही छ भनेर ठहर गर्‍यो । त्यसमा नपचेर पार्टीले कु गर्‍यो भन्दै हिँड्न थाल्नुभएको छ’ उनले भने, ‘उहाँहरू पार्टीको आधिकारिक लाइनभन्दा बाहिर हुनुहुन्छ । हामीले पार्टीको लाइन समाएका छौँ त्यसैमा निर्णय गरेर अघि बढ्नुपर्छ ।’ आफूहरूले आयोजक समिति  बनाइ सकेकाले पन्चा सिंह नेतृत्वको कमिटीले समेत आयोजक समिति बनाउनुपर्ने कार्कीले बताए । यदि अखिल क्रान्तिकारीलाई आयोजक बनाएर सबैलाई नसमेटेमा स्ववियू चुनावमा देशैभर उम्मेदवार उठाउने कार्कीले चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप