सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

एन्फाको कमजोरीले 'ए' डिभिजन लिग सुरु हुनु दश दिन अगाडि रङ्गशालामा कन्सर्ट

शनिबार, १३ फागुन २०७९, १२ : ५१
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाली फुटबलको शीर्ष डिभिजन लिग सुरु हुनु पूर्व दशरथरङ्गशालामा कन्सर्ट भयो । ए डिभिजन लिग सुरु हुन केही दिन अघि कन्सर्ट गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आलोचना पनि भयो । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राखेपलाई लिग सुरु हुनु पूर्व हुन लागेको कन्सर्टलाई रोकीदिन पनि आग्रह गरेको थियो । तर, राखेपले उक्त अग्रहलाई मानेन । 

राखेपले ए डिभिजन लिगको मिति तोक्नु पूर्व नै कन्सर्टका लागि अनुमति दिएको थियो । लिगको मिति दुई पटक सारेको एन्फाले कन्सर्टकै आसपासमा लिग गर्ने भयो । 

एन्फाले पुस २६ गतेदेखि लिग सुरु गर्ने घोषणा गरेको थियो । त्यसपछि फेरी मिति सारेर फागुन १९ गते गर्ने निर्णय गरेको हो । 

तयारी खर्च नपाएको भन्दै क्लबहरूले तोकिएको मितिमा लिग खेल्ने अस्वीकार गर्दा लिगको मिति सरेको थियो । यो सिजन लिगको पहिलो खेलमा खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो खेलमा खेलाडीहरुलाई मैदानमा भएको खाल्डाखुल्डिले असर गर्ने हो कि भन्ने पिरलो छ । यो विषयमा एन्फाले पनि लिगको समय नजिकै खेल नगराउन भनेको थियो । 

अहिले कन्सर्टको विषयमा एन्फा र राखेप दुवैको आलोचना भइरहेको छ । यो विषयमा दुवै निकायले आ–आफ्नो तर्क दिएका छन् । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एन्फाले पटक–पटक लिगको मिति सार्दा नै यो मितिसँग जुधेको बताए । 

‘एन्फालाई लिग गर्न हामीले रोकेका छैनौँ । लिगको मितिको नजिक पारेर पनि रंगशालमा कन्सर्ट गर्न दिएका होइनौँ । उहाँहरू आफै लिगको मिति पटक–पटक सार्नु हुन्छ । हामीले ए डिभिजन लिगको मिति तय हुनु पूर्व नै आयोजकलाई कन्सर्ट गर्नका लागि रङ्गशाला दिएका थियौँ,’ घिसिङले रातोपाटीसँगको कुराकानीमा भने । 

राखेपले दशरथ रङ्गशालाको एक दिनको भाडा २० लाख रुपैयाँ लिने गरेको छ । त्यसैबाट राखेको आन्तरिक व्यवस्थापनमा खर्च गर्ने गरेको घिसिङ बताउँछन् । त्यसैले आफूहरूलाई रङ्गशाला दिन आएको मागलाई सम्बोधन गर्ने उनी बताउँछन् ।  

‘हाम्रो आन्तरिक स्रोतको व्यवस्थापन अनि सेक्यूरेटी गार्डको व्यवस्थापन देखि लिएर रङ्गशालाको मर्मत सम्भार सबै त्यही भाडाबाट आउने हो । त्यसैले हामीले रङ्गशाला भाडामा दिने गरेका छौं,’ घिसिङले भने । 

यता एन्फाका प्रवक्ता सुरेश शाहले लिगको समय नजिकै कन्सर्ट नगर्न आग्रह गरेका आफूहरू राखेपमा गएको तर, राखेपले पहिले नै रङ्गशाला भाडामा दिने निर्णय गरिसकेका कारण केही गर्न नसकिएको बताए । 

‘लिगको समय नजिकै कन्सर्ट हुने भएपछि हामीले नगर्न राखेपसँग अनुरोध गरेका थियौँ । तर, उहाँहरूले पहिले नै रङ्गशाला भाडामा दिइसक्नु भएको थियो,’ शाहले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप