बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश १ सरकार

यही सरकार चुनावसम्म जान्छ : मुख्यमन्त्री कार्की

राप्रपा तत्काल सरकारबाट नबाहिरिने, प्रदेश समितिले निर्णय गर्ने
आइतबार, १४ फागुन २०७९, ११ : ५८
आइतबार, १४ फागुन २०७९

विराटनगर, १४ फागुन

केन्द्रमा समीकरण बदलिएसँगै प्रदेश १ सरकारको भविष्यलाई लिएर विभिन्न आकलन सुरु भएको छ । तर, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नै नेतृत्वको सरकार आगामी निर्वाचनसम्म जाने दाबी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्कालै प्रदेश एक सरकार नछाड्ने भनेको र चारदलबीच सरकार पाँचैवर्ष टिकाउने सहमति गरेको कारण तत्काल सरकार नढल्ने दाबी गरे । ‘राप्रपाले सरकारबाट नबाहिरिने बताइसकेको छ, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि त्यही भन्नुभएको छ, जसपाका नेताले पनि त्यही भनेका छन्, त्यसकारण यो सरकार आउने निर्वाचनसम्म टिक्छ,’ टेलिफोन कुराकानीका क्रममा उनले भने, ‘त्यसमा कुनै अविश्वास गर्नुपर्ने कारण छैन ।’

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थन छ । कार्कीको नेतृत्वमा हाल माओवादीबाट २, एमालेबाट २, राप्रपाबाट १ र जसपाबाट १ जना रहेको ७ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।

राप्रपाले अन्य ६ प्रदेशमा समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिइसक्दा पनि प्रदेश १ मा भने राप्रपाले तत्काल सरकारबाट नबाहिरिने जनाएको छ । राप्रपा प्रदेश नम्बर एकका अध्यक्ष राम थापाले सङ्घीय सरकार र प्रदेशबाट समेत मन्त्रीहरूले राजीनामा दिएको तर प्रदेश एकको विषयमा भने पार्टीले तत्कालै निर्णय नलिने तय भएको बताए  । ‘प्रदेश एकलाई हामीले विशिष्ट क्षेत्रको रूपमा व्याख्या गर्ने गरेका छौँ । बदलिएको परिस्थितिअनुरूप अब कसरी अघि बढ्ने भनेर प्रदेश समितिको समेत बैठक गरेर निर्णय गर्ने हाम्रो तयारी छ,’ अध्यक्ष थापाले भने ।

एमाले नेतृत्वको सरकारमा सामेल भएका राप्रपा संसदस्य दलका नेता तथा मन्त्री भक्तिप्रसाद सिटौलाले आइतबार पदबाट राजीनामा दिने भनिएकोमा तत्कालै नदिने तर परिस्थिति हेरेर मात्र निर्णय हुने बताए । सिटौलाले भने, ‘यो प्रदेशलाई अलि विशिष्टीकृत रूपमा हेरिएको छ, हाम्रै कारणले राजनीतिक अस्थिरता नहोस् भनेर पनि तत्कालै के गर्ने भन्ने निर्णय गरिसकेका छैनौँ ।’ सिटौला एमालेका हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा कृषि मन्त्रालयको जिम्मेवारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप