मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पहिरोका कारण विद्यालय जोखिममा

सोमबार, १५ फागुन २०७९, १६ : ०४
सोमबार, १५ फागुन २०७९

बागलुङ  । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ ।  ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा विद्यालय मुनी चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्म क्षति पुगेको छ । 

क्षेत्र नम्बर एकअन्तर्गत पर्ने उक्त सडकको झण्डै १० किलोमिटर कालोपत्रेका लागि सडक चौडा पार्ने काम भइरहेको छ । पहिरोले विद्यालय भवन जोखिममा परेपछि पठन–पाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र हमालले बताए । “पहिरोले विद्यालय जोखिममा पारेकाले बर्खा नलाग्दै जोखिम न्यूनीकरण गर्नुपर्ने हुन्छ । यसका लागि निर्माण व्यवसायी र वडा कार्यालयलाई जानकारी गराएका छौँ”, उनले भने ।

प्रधानाध्यापक हमालका अनुसार विद्यालयको प्रवेशद्वारसम्म सडक निर्माणका क्रममा चिर्किएको छ भने विद्यालयको शौचालय र धारामा गत वर्षको पहिरोले क्षति पुर्याएको थियो । विद्यालयको पूर्व र पश्चिम पट्टी भिरालो जग्गा भएका कारण जोखिम बढ्दै गएको उनको भनाइ थियो ।

विद्यालयलाई जोगाउन तत्कालै ग्याबिन लगाउने तयारी भइरहेको निर्माण कम्पनी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले जानकारी दिए । उनले ढुङ्गा सहितको जग्गामा सडक चौडा पार्ने क्रममा सुख्खा पहिरो गएको जानकारी गराउँदै विद्यालयलाई कुनै क्षति हुन नदिने बताए । रू ३२ करोड लागतमा उक्त सडक विस्तार र पूर्वाधारको काम भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप