शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश १ सरकार

प्रदेश १ मा एमाले–राप्रपाको ‘ट्युनिङ’ मिलेपनि सत्ता डेन्जर जोनमा

मुख्यमन्त्री भन्छन्– प्रदेश १ मा झगडा किन गर्नु ?
सोमबार, १५ फागुन २०७९, १७ : ११
सोमबार, १५ फागुन २०७९

विराटनगर । केन्द्रको सत्ता राजनीतिबाट बाहिरिएको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ मा एक ठाउँमा उभिएका छन् । राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले संघ र प्रदेश दुवै सरकारबाट बाहिरिने निर्णय गरे पनि प्रदेश १ मा सो पार्टीले सरकारबाट बाहिरिने छनक नदेखाएको हो । प्रदेश १ मा एमाले नेतृत्वको सरकार भएकै कारण राप्रपा सरकारबाट नबाहिरिएको बुझिएको छ । 

यद्यपि माओवादी केन्द्र बिना राप्रपाको मतबाट मात्रै प्रदेश १ को सरकार टिक्न नसक्ने भएकाले मुख्यमन्त्री हिक्मतकुमार कार्की डेन्जर जोनमै छन् । राप्रपासँग ‘ट्युनिङ’ मिलेपनि सत्ता जोगाउन हम्मे देखिएको अवस्थामा मुख्यमन्त्री हिक्मतकुमार कार्की कसरी अघि बढ्लान् भन्ने विषयले प्रदेशमा चासो बढेको छ ।  

यद्यपि मुख्यमन्त्री कार्की प्रदेश १ मा एमाले र माओवादी केन्द्र मिलेरै सरकार चलाउँदा सहज हुने जिकिर गर्छन् । ‘संघमा नेताहरूबीच के–के हुन्छ, कुरा मिल्दैन, अनि प्रदेश एकमा झगडा किन गर्नु ?’, कार्कीले रातोपाटीसँग भने, ‘प्रदेश १ मा एमाले र माओवादी मिलेरै सरकार चलाउँदा सजिलो हुन्छ, धेरै दल किन मिल्नु पर्यो ? ’ उनले केन्द्रमा नेताहरुबीच झगडा भएको तर, प्रदेश १ मा सबै मिलिरहेको दाबी गरे । 

कार्कीले प्रदेश १ मा एमाले र माओवादी मिल्दा नै बहुमत पुग्ने भन्दै फागुन २५ को राष्ट्रपति निर्वाचनपछि केन्द्रमा पनि दुई पार्टी मिल्नुपर्ने तर्क गरे । 

‘हामी त राष्ट्रपति निर्वाचन पछि एमाले र माओवादीलाई मिलाउन लाग्छौँ,’ उनले भने, ‘प्रदेशमा नमिल्ने भन्ने नै छैन ।’

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली काँग्रेससहितको ८ दलमा सहभागी भएर राष्ट्रपति पदमा काँग्रेसका उम्मेदवारलाई सघाउने भएपछि केन्द्रमा एमालेले सोमबारमात्रै सरकारबाट बाहिरिएको हो । 

संघमा सरकारबाट बाहिरिएको राप्रपाले प्रदेश १ को सरकारबाट भने ‘तत्काल नबाहिरिने’ भनेर माओवादीलाई असहयोग गर्ने र एमालेलाई सहयोग गर्ने नीति लिएको बताइएको छ ।  प्रदेश १ का राप्रपाका अध्यक्ष राम थापाले प्रदेश १ को अवस्था विशिष्ट रहेको दाबी गर्दै तत्काल सरकारबाट नबाहिरिने बताए । 

एमाले, माओवादी, राप्रपा र जसपा मिलेर बहुमत (६० सांसदको समर्थन) जुटाउँदै गत पुस २५ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बनेका थिए । 

तर, सरकार बनेको दुई महिना नपुग्दै ढल्ने स्थिति बनेपनि मुख्यमन्त्री कार्की सत्ता जोगाउने कसरतमै छन् । ‘राप्रपाले सरकारबाट नबाहिरिने बताइसकेको छ, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि त्यही भन्नुभएको छ, जसपाका नेताले पनि त्यही भनेका छन्’ उनले भने, ‘त्यसकारण यो सरकार आउने निर्वाचनसम्म टिक्छ ।’ ६ जना प्रदेससभा सदस्य रहेको राप्रपा अहिले एउटा मन्त्रालयसहित सरकारमा छ । केन्द्रीय प्रवक्तासमेत रहेका झापाका भक्ति सिटौला मन्त्री छन् । 

९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार बनेको थियो । राष्ट्रपति निर्वाचन पछि माओवादी वा जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा भने सरकार अल्पमतमा पर्नेछ । त्यसबेला ४० सिट भएको एमाले र ६ सिट भएको राप्रपा मात्रै सरकारमा हुनेछन् । यो सङ्ख्या बहुमतभन्दा १ सिट कम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप