आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निवर्तमान स्वास्थ्यमन्त्रीको गुनासो : काम गर्ने बेलामा हट्नुपर्‍यो

मङ्गलबार, १६ फागुन २०७९, १३ : ००
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो छ । 

मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीको रूपमा आफूले व्यतीत रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए । गिरीले भने, ‘४२ दिन स्वास्थ्यमन्त्रीको रूपमा रहेर काम गर्ने अवसर प्राप्त भयो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले जुटे । सम्बन्धित पक्षहरूसँग बस्ने, अन्तरक्रिया गर्ने, कहाँ के समस्या छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गर्ने भन्ने लाग्छ । अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्य मन्त्री बन्नु अघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन ।’

गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि बीमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव थियो । गिरीले स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे । उनले स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरूको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए ।

उनले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्‍याएका स्वास्थ्य क्षेत्र हेर्ने पत्रकारहरूलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताए । त्यस अवसरमा उनले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि आफूले सांसदको रूपमा सरकारको ध्यानाकर्षण गराउने भन्दै त्यसका लागि सुझाव दिन पत्रकारहरूलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप