सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सल्यानकाे कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो

बुधबार, १७ फागुन २०७९, १० : ३१
बुधबार, १७ फागुन २०७९

सल्यान । कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । बहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षीय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौँ लगिएको छ ।

स्थानीय रुद्रवीर कँवरका अनुसार सोमबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षीय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको थियो । कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको थियो । प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण सङ्कलनको कार्य भइरहेको छ ।

कुकुरले चार जना मानिसलाई टोकिसक्दा र त्रास फैलँदा समेत गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । छोरोलाई उपचारका लागि काठमाडौँ पुगेका उत्तमले भने, ‘कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो । तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन ।’ सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेबिज फैलन सक्ने स्थानीयको चिन्ता छ ।

भुस्याहा कुकुरको व्यवस्थापन र रेबिज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासँग कुनै योजना भएको देखिँदैन । कुकुरलाई रेबिज विरुद्धको खोप दिने र भुस्याहा कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिए । कुकुरले मानिसलाई टोकेको र रेबिजको त्रास फैलिएकोबारे थाहा भए पनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप