शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दुबई पुगेका सिके लालले मधेसी दलबारे गरे यस्तो विश्लेषण

बुधबार, १७ फागुन २०७९, १२ : ३१
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । राजनीतिक विश्लेषक सिके लालले मधेसलाई पहिचान दिलाउने काम मधेस आन्दोलनले गरेको बताएका छन् । मधेस आन्दोलनबाट आएको जय मधेसको नाराले मधेसलाई गौरव गर्ने लायक बनाएको बताउँदै उनले मधेसको पहिचानका लागि पटक पटक सङ्घर्ष भए पनि त्यो अधुरो रहेको बताए । 

मधेसी एकता समाज युएईले दुबईमा होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विश्लेषक सिके लालले पहिलो मधेस आन्दोलन र दोस्रो मधेस आन्दोलन सफल भएपछि तेस्रो मधेस आन्दोलन गडबड भएको उल्लेख गर्दै सिके लालले चौथो मधेस आन्दोलनमा ठुलो धक्का लागको धारणा राखे । उनले भने अहिले तराई मधेसमा रहेका कुनै पनि मधेसी दलको नाममा मधेस शब्द रहेको छैन । यसले मधेस आन्दोलनलाई कमजोर मात्र होइन, मधेसको पहिचानमा नै असर गरेको छ । 

विश्लेषक सिके लालले देश वा मधेसमा विभिन्न राजनीतिक आन्दोलन भए पनि नागरिकले परिवर्तनको महसुस नगरेको बताए । सामाजिक सङ्घ संस्थाहरू राजनीतिक दलको भातृ सङ्गठन बन्न नहुने धारणा राख्दै उनले सङ्घ संस्था राजनीतिक दलको पछुवा बनेकोले पनि  मधेसको विकास र पहिचान पछाडि परेको बताए । देशको विकासका लागि राजनीति मात्र नभई सामाजिक सङ्घ संस्थाहरू पनि महत्त्वपूर्ण रहेको धारणा उनले राखेका छन् । 

दुबईमा विभिन्न पेसा व्यवसायमा संलग्न मधेसीहरुको साझा संस्थाको रूपमा कार्यरत मधेसी एकता समाज युएईले केही दिन अगाडि नै होली कार्यक्रम सम्पन्न गरेको छ । फागुन २१ गते सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ सङ्गठन गैरआवासीय मधेसी सङ्घले होलीको कार्यक्रम राखेको कारण मधेसी एकता समाज युएइले त्यसअघि कार्यक्रमको आयोजना गरेको हो । मधेसी एकता समाजका संस्थापक एवम् अन्तर्राष्ट्रिय अध्यक्ष डा.रविन्द्र यादवले भने, ‘हामी पनि होलीको नजिक नै कार्यक्रम गर्ने सोचिरहेका थियौं तर गैर आवासीय मधेसी सङ्घले पहिला नै सोही दिन कार्यक्रम तय गरेको कारण हामी त्यसअघि कार्यक्रम गरेका हौँ ।’

गैरआवासीयमधेसी सङ्घले आयोजना गरेको होली कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष सिके राउत रहेका छन् । गैर आवासीय मधेसी सङ्घ जनमतको भातृ सङ्गठन भएपछि त्यसबाट अलग भएर मधेसी एकता समाज युएई गठन भएको थियो ।  कार्यक्रममा नेपालबाट गएका कलाकारहरू देवेन्द्र साह सोनी र देव अहिराव तथा नृत्याङ्गना प्रीति पासवान र गायिका शिवानी भगतले आ–आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णले रङगहरु एक आपसमा लगाउँदै होली मनाएको समाजका अध्यक्ष यादवले बताए । 

कार्यक्रममा मधेसी समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरूलाई सम्मानपत्रबाट सम्मान गरेको छ । कार्यक्रम मधेसी एकता समाज युएईको अध्यक्ष कृष्ण ठाकुरको अध्यक्षतामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप