बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थान भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आइतबार, २१ फागुन २०७९, १२ : ४५
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । पछिल्ला २४ घण्टामा भएका विभिन्न दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार धनुषा, सर्लाही र धादिङमा भएका दुर्घटनाहरूमा उनीहरूको मृत्यु भएको हो ।


धनुषाको गणेशमान चारनाथ नगरपालिका-९ बरमझियास्थित सडकमा प्र.२-०२-००६ प २६५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सहिदनगर नगरपालिका-९ बस्ने ४५ वर्षीया कुमारी देवी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यसैगरी धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित सडकमा ज. १ त ५२४५ नम्बरको ट्रयाक्टरमा ज.१० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय राम एकवाल ठाकुर र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया सतो साह सुडी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यता सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा बागमती प्रदेश-०१-०२५ च २००७ नम्बरको पिकअप र प्र.२-०२-००१ ह ०३३३ नम्बरको टेम्पु एक-आपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा टेम्पु चालक धनुषा मिथिला नगरपालिका-१० बस्ने ३४ वर्षीय दीपक स्याङतानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गढीमाई अस्पताल लालबन्दी हुँदै थप उपचारको लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटपस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय प्राविधिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप