बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु हिंसा पीडित महिला जसले आफ्नै बच्चा साथमा राख्न पाइनन्

बिहीबार, २५ फागुन २०७९, १६ : ३७
बिहीबार, २५ फागुन २०७९

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं. १७, मोतिपुर निवासी सरिता भुसालले २०७० सालमा नवलपरासी गैंडाकोटका सुदर्शन खरेलसँग मागी विवाह गरिन् । कान्छी छोरी भनेर उनका बुवाले पार्टी प्यालेसमा धूमधामले विवाह गरिदिए ।

विवाह गरेको तीन वर्षमा सरिताले छोरो पनि जन्माइन् । तर छोरा जन्मेको ११ महिनामै उनले घर छोड्नुपर्ने बाध्यता आइलाग्यो । रातोपाटीको बुटवलस्थित कार्यालयमै गुनासो पोख्न आइपुगेकी सरिताले भनिन्, ‘मेरा श्रीमान् पहिलेदेखि नै लागुऔषध दुर्व्यसनी रहेछन्, मलाई ढाँटिएको रहेछ, विवाह भएको केही समयमै घरमा झैझगडा र ममाथि कुटपिट हुन थाल्यो ।’

सुरुका केही वर्ष सासु–ससुराको सहयोगमा आफू घरमा टिक्न सकेको उनले बताइन् । तर छोरो जन्मेको ११ महिना पुग्दै गर्दा आफूमाथि घरमै बस्न नसक्ने गरी हिंसा हुन थालेको र त्यसपछि घर छोडेर माइत आउन बाध्य भएको उनले सुनाइन् ।

तर सरिताले साथमा छोरो ल्याउन पाइनन् । उनलाई सबैभन्दा ठूलो चोट छोरो साथमा ल्याउन नपाउँदाको छ । उनले भनिन्, ‘घरेलु हिंसाले घर त छोड्नुनै पर्ने भयो तर छोरोलाई पटकपटक लिन जाँदा पनि मलाई घरकाले दिएनन् ।’

बच्चा बालिग नहुँदासम्म आमाले चाहेमा आफ्नो सन्तान साथमा राख्न पाउने भए पनि उनलाई छोरो लैजान दिइएन । घरेलु हिंसाले पीडित भएपछि सरिताले विगत ६  वर्षदेखि माइतीमै शरण लिएकी छन् । हुन त उनले अंशबण्डा र छोरो साथमा राख्न पाउँ भनी अदालतमा मुद्दा दायर गरेकी छन् । उनका पति सुदर्शनले भने सम्बन्ध विच्छेदको माग गरेका छन् । तर झन्झटिलो अदालती प्रक्रियाले सरिता बेचैन छिन् ।

६ वर्ष माइतीमा बसेकी ३२ वर्षीय सरिताले भनिन्, ‘अब सधैँ माइती घरमा बसेर नपुग्ने भयो, मलाई बास बस्ने ठाउँ होस् भनेर मेरो हकको सम्पत्ति माग गरेकी छु तर उनीहरु दिन मान्दैनन् ।’

घरकाले अंशबण्डा गरेर सम्पत्ति लुकाउने कोसिस गरिरहेको र आफूलाई भरसक रित्तो हात नै फर्काउने प्रयास गरिरहेको उनको गुनासो छ ।

सरिताका बुवा ग्यामलाल भुसालले भने, ‘छोरीलाई घरबारबिहीन बनाइएको छ, हामीलाई छिटोभन्दा छिटो न्याय चाहिएको छ ।’ आफ्नो सन्तानलाई साथमा राख्न नदिनु पनि एक प्रकारको अपराध रहेको भन्दै उनले सरिताले आफ्नो छोरोलई सँगै राख्न पाउनुपर्ने बताए ।

बालिग हुँदासम्म आमाको साथमा रहन पाउने बाल अधिकार समेत ज्वाइँ सुदर्शनका परिवारले हनन् गरेको भुसालको गुनासो छ । कुलतमा परेका कारण ज्वाइँले छोरी सरितालाई दिनहुँ कुटपिट गरेर यातना दिने गरेपछि घर छोडेर माइत बस्न बाध्य भएको भुसालले बताए ।

छोरीको हक अधिकारले भेट्ने सम्पत्ति माग गरिएको भए पनि खरेल परिवारले अटेर गरेको उनको भनाइ छ । छोरीको जीवन निर्वाहका लागि गाह्रो परिरहेको उनले दुखेसो गरे । उनले भने, ‘घरकी कान्छी छोरो भनेर धूमधामले मागी विवाह गरिदिएँ, पार्टी प्यालेसका बिल अझै होलान् तर अहिले छोरीलाई घर न घाटको बनाए, जीवन बरबाद पारिदिए ।’

ज्वाइँको घरपरिवार आर्थिक रूपले सम्पन्न भए पनि अंशबण्डामा आनाकानी गरेर झुलाइरहेको भुसालको भनाइ छ ।

उता सरिताका श्रीमान् सुदर्शनले भने आफ्नै मनोमानीले ११ महिनाको छोरो छोडेर सरिता माइत बस्न थालेको आरोप लगाउँछन् । सानैदेखि बच्चाको स्याहार आफूले गरेकाले बच्चा आमासँग राख्न नदिने उनी बताउँछन् । अशंबण्डामा भने कुरा मिल्न नसकेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप