शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धन विभाजित

गठबन्धनबाटै तीनजना उम्मेदवार, बहुमत जसपासँग
शनिबार, २७ फागुन २०७९, १७ : २०
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । उपराष्ट्रपतिमा महिला वा पुरुष कसलाई बनाउने कुरा नमिल्दा सत्ता गठबन्धन विभाजित बनेको छ । सत्ता गठबन्धनका १० दलमध्ये जसपा, कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गरेका छन् भने लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले लोसपाका उम्मेदवार ममता झालाई समर्थन गरेका छन् ।

तर १० दलमध्येको नेपाल समाजवादी पार्टी र आम आदमी पार्टी कसैको समर्थक र प्रस्तावकमा बसेका छैनन् । यद्यपि यी दुई दलले पनि कांग्रेस र माओवादी केन्द्रले समर्थन गर्ने दललाई नै गर्ने स्रोतले दाबी गरेको छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको प्रस्तावकमा जसपाका अशोककुमार राई, प्रदीप यादव, नेकपा एकीकृत समाजवादी पार्टीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी रहेका छन् । 

त्यस्तै, उनको समर्थकमा जसपाका रेखा यादव, अम्बिका काफ्ले, नेकपा (एस)का प्रकाश ज्वाला, खिमलाल देवकोटा र कांग्रेसका भानुभक्त जोशी रहेका छन् । 

उपराष्ट्रपतिका अर्का उम्मेदवार ममता झाको प्रस्तावक जनमतका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका अभिराम शर्मा र रूपाकुमारी यादव रहेका छन् । त्यस्तै, समर्थकमा जनमत पार्टीका गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाहा, नागरिक उन्मुक्ति पार्टीका रामप्रकाश चौधरी र लोसपाका रानीकुमारी तिवारी रहेका छन् ।  

प्रमिला देवकोटाका लागि पनि सत्ता गठबन्धन विभाजन भएको छ । प्रमिला यादव पनि जसपाकै उम्मेदवार हुन् । प्रमिला देवकोटालाई सत्ता गठबन्धनबाट कांग्रेसले मात्र समर्थन जनाएको छ । प्रमिला यादवको समर्थकमा कांग्रेसका अनिता देवकोटा र सीता गुरुङ बसेका छन् । त्यस्तै जसपाबाट मनिष सुमन र सुशीला श्रेष्ठ समर्थक बसेका छन् । प्रमिला यादवको प्रस्तावकमा जसपाका रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । 

उपराष्ट्रपतिका लागि सत्ताधारी दलहरू विभाजित भएपनि यसमा अझै छलफल हुन बाँकी रहेको जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बताए । उनले भने, ‘गठबन्धनकै निर्णय अनुसार तीनजना उम्मेदवार बनाएको हो, यसमा अझै छलफल गर्न बाँकी नै छ भोलि यसबारे छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप