बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

नेपालको आयात–निर्यातको स्थिति : ९ रुपैयाँको बेच्दा ९१ रुपैयाँको खरिद !

आइतबार, २८ फागुन २०७९, १४ : १४
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । वैदेशिक व्यापारमा नेपालको कमजोर स्थिति थप विकराल बन्दै गएको छ । सरदर एक सय रुपैयाँमा ९ रुपैयाँको वस्तु तथा सेवा बेच्दै गर्दा नेपालले अधिकतम ९१ रुपैयाँ बराबरको विदेशी वस्तु आयात गरेको तथ्याङ्कले देखाउँछ । 

नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ) को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । जसमा नेपालको वैदेशिक व्यापारको खाडल थप बढ्दो देखिएको छ । 

आर्थिक वर्ष २०७९/८० को ७ महिनामा नेपालले कूल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्दै गर्दा सोही अवधिमा ९ खर्ब १९ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । 

यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात र आयात क्रमशः २९ प्रतिशतले र १९.९ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो भने आयात ४२.८ प्रतिशत बढेको थियो । 

समीक्षा अवधिमा वस्तुगत आधारमा जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

यता आयातजन्य वस्तुहरूमा समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको केन्द्रीय बैंकले जनाएको छ ।

वस्तु आयात गरिने प्रमुख मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप