बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी खाएर गाडी चलाउला भनेर छोराको बीएमडब्ल्यूमा बुवाले गरिदिए तोडफोड

आइतबार, २८ फागुन २०७९, १६ : ५६
आइतबार, २८ फागुन २०७९

रक्सी खाएका छोराले गाडी चलाउने हो कि भनेर चिन्तित एक बुवाले छोराको बीएमडब्ल्यूमा तोडफोड गरिदिएका छन् । स्पेनका एक व्यक्तिले रक्सीले मातेका छोराले गाडी चलाएर दुर्घटना हुने हो कि भन्ने चिन्ताले कारको झ्याल फुटाइदिए भने कुटोले कारमा क्षति पुर्‍याइदिएका छन् । 

आफ्ना छोराछोरीप्रति बुवाको प्रेम धेरै बलियो हुन्छ तर यो असाधारण तरिकाले उजागर हुन सक्छ । स्पेनका लगरोनका ६० वर्षका यी व्यक्तिकै उदाहरण लिऔँ । रक्सीले मातेको छोराले गाडी चलाएर कुनै अप्रिय घटना घटित हुने हो कि भन्ने चिन्ताले उनलाई धेरै सतायो तसर्थ उनले गाडीमा तोडफोड गरिदिए । 

अडिटी सेन्ट्रलका अनुसार करिब एक हप्ता अघि स्थानीय प्रहरीले सार्वजनिक स्थलमा पार्क गरिएको गाडीमा तोडफोड भइरहेको छ भन्ने खबर पाए । तत्काल घटनास्थलमा जाँदा प्रहरीले सेतो भ्यान भागिरहेको देखे । प्रहरीले उक्त भ्यानलाई समात्न सफल भयो । उक्त भ्यानभित्र एक वृद्ध र रक्सीले मातेका पुरुष देखे ।

दुई जनालाई सोधपुछ गरेपछि प्रहरीले ती दुई बाउ–छोरा भएको र त्यही भ्यान चलाउने ६० वर्षे वृद्धले बीएमडब्ल्यू तोडफोड गरेको थाहा पाए । तर उक्त बीएमडब्ल्यू उनकै ३२ वर्षे छोराको भएको थाहा पाउँदा प्रहरी चकित परे । वृद्धले प्रहरीसँगको कुराकानीमा आफूले छोरालाई रक्सी खाएर गाडी नचलाऊ भनेर धेरै सम्झाउँदा पनि नमानेका कारण ठुलै दुर्घटना हुने हो कि भन्ने चिन्ताले कारमा तोडफोड गरेर बताए ।

छोरासँग ठुलै विवाद भएपछि ती वृद्धले कुटोले बीएमडब्ल्यूको सिसा फुटाइदिए, टायर पन्चर गरिदिए र धातुले बनेको कारमा क्षति पुर्‍याए । प्रहरीको साइरन बजेको सुनेपछि ती वृद्धले छोरालाई भ्यानमा राखेर घटनास्थलबाट भाग्न खोजेको पनि बताए ।

‘घटना अघिल्लो हप्ता आइतबार (२१ फागुन) को हो । सार्वजनिक स्थलमा टिलिक्कको कारलाई कुटोले तोडफोड गरिरहेको देख्ने प्रत्यक्षदर्शीलाई प्रहरीलाई सूचना दिएकोमा धन्यवाद दिन चाहन्छौँ,’ प्रहरी स्रोतले भनेको छ ।

यो घटनामा ती वृद्धले केही परिणाम भोगे–नभोगेको स्पष्ट नभए पनि प्रहरीले यस घटनाबारे भने ट्विटरमा जानकारी दिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप