शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा भोलिदेखि बज्रेश्वरी जात्रा हुने

सोमबार, २९ फागुन २०७९, १८ : ००
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवार (भोलि) देखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । 

कोषले भोलि साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बतायो । चैत्र कृष्णाष्टमी/शीतला अष्टमीमा सुरु भई चैत्र शुक्ल तृतीयामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ । यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । 

यात्रा अवधिभर बाटोमा चिराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धूप बालेर पूजा गर्ने गरिन्छ । बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ । नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ । कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ जात्राहरुको थलो भएकाले यसको संरक्षण र संवद्र्धनको आवश्यकता रहेको बताए ।   उनले पाशुपत क्षेत्रबाट सुरु हुने भएकाले यो जात्रालाई स्थानीय जात्रा भनेपनि यो मुलुकभर हुने जात्रा रहेको बताए । उनले यो जात्रालाई कोषले मुलककै जात्राको रुपमा विकास गर्ने र जात्रा हेर्न आउने विदेशीहरुका लागि आवश्यक सहयोग र फोटो खिचेर आफ्ना क्षेत्रमा प्रचार गर्नसक्ने वातावरण सिर्जना गर्ने बताए । 

जात्रा सञ्चालनका लागि परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोजकत्वमा १३ जनाको पर्व सञ्चालन एवं समन्वय समिति पनि गठन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप