शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सी जिनपिङको घोषणा, चिनियाँ सेनालाई ‘द ग्रेट वाल अफ स्टिल’ बनाउने

मङ्गलबार, ३० फागुन २०७९, ११ : ०२
मङ्गलबार, ३० फागुन २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देशको सेनालाई ‘ग्रेट वाल अफ स्टिल’मा परिणत गर्न चाहेका छन् ।

चिनियाँ राष्ट्रपतिका अनुसार चीन विश्वमा आफ्नो सार्वभौमसत्ता र विकाससँग सम्बन्धित आफ्नो हितका लागि सेनालाई निकै बलियो बनाउन चाहन्छ ।

साउदी अरब र इरानबीच हालै भएको सम्झौतापछि चीनले दिएको राष्ट्रपति सी जिनपिङको यो भनाइलाई निकै महत्त्वपूर्ण मानिएको छ । 

गत हप्ता चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय काँग्रेसले सीको तेस्रो कार्यकाललाई अनुमोदन गरेको थियो । त्यसपछि जिनपिङले पहिलो पटक सार्वजनिक वक्तव्य दिएका छन् ।

चिनियाँ सेनालाई बलियो बनाउने आफ्नो इच्छा व्यक्त गर्दै सीले जनतालाई आफ्नो सरकारलाई समर्थन गर्न अपिल गरे ।

६९ वर्षीय जिनपिङले चिनियाँ संसद्मा भने, ‘मैले तेस्रो पटक यस्तो उच्च राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दैछु । जनताको विश्वास नै मेरो लागि सबैभन्दा ठुलो प्रेरणा हो । यही कुराले मलाई अगाडि बढ्न प्रेरित गर्छ । तर यसले मेरो काँधमा ठुलो जिम्मेवारी पनि राख्छ ।’

जिनपिङले संविधानमा उल्लेखित जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चीनका जनताले आफूमाथि गरेको विश्वासलाई कहिल्यै डगमगाउन नदिने बताए ।

जिनपिङले भने, ‘विकासको आधार सुरक्षा हो, स्थायित्व भए मात्र समृद्धि आउँछ । ’ उनले चिनियाँ सेनाको आधुनिकीकरणको कामलाई अगाडि बढाउन आग्रह गर्दै उनले यसलाई  ‘ग्रेट वाल अफ स्टिल’ बनाउनुपर्ने बताए ।

उनले भने, ‘यो एउटा यस्तो सेना हुनेछ जसले आफ्नो देशको सम्प्रभुता, सुरक्षा र विकाससँग जोडिएको हितलाई पूर्ण तत्परताका साथ रक्षा गर्नेछ ।’

xi jinping1चीनले ठुलो भूमिका खोजिरहेको छ

चिनियाँ सेनालाई ‘ग्रेट वाल अफ स्टिल’ बनाउने जिनपिङको भनाइका कारण चीनको पर्खालको चर्चा चर्किएको छ ।

चीनका सम्राट्हरूले देशलाई बाह्य आक्रमणबाट बचाउन २० हजार किलोमिटरभन्दा लामो पर्खाल बनाएका थिए । यो पर्खाल बन्न धेरै शताब्दी लागेको थियो ।

चिनियाँ सेनालाई बलियो बनाउने सम्बन्धमा जिनपिङको यो भनाइ यस्तो बेला आएको हो, जब अमेरिका र केही छिमेकी देशसँगको तनाव बढ्दै गएको छ ।

चीनमा जिनपिङलाई पार्टीको सबैभन्दा प्रमुख नेता मानिन्छ । जसरी चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङलाई कुनै समय मानिन्थ्यो ।

गत हप्ता चीनको संसद्ले उनको तेस्रो कार्यकाल राष्ट्रपतिको रूपमा अनुमोदन गरेको थियो । योसँगै केन्द्रीय सैनिक समितिको प्रमुखमा पनि उनको नाम अनुमोदन भएको छ ।

केन्द्रीय सैन्य समितिका प्रमुख चिनियाँ सेनाको सर्वोच्च कमान्डर हुन्छ । यो उनको राष्ट्रपति र चिनियाँ सेनाको सर्वोच्च कमान्डरको रूपमा अर्को पाँच वर्षको कार्यकालको सुरुवात हो ।

गत वर्ष अक्टोबरमा सी जिनपिङ तेस्रो पटक चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । माओपछि जिनपिङ पहिलो यस्तो नेता हुन् जसलाई पाँच वर्षको दुई कार्यकालभन्दा बढी दिइएको छ । 

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप