शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्डलाई सकस, भागबण्डा मिलाउन चुनौती

मङ्गलबार, ३० फागुन २०७९, १६ : ५२
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद पुनर्गठन गर्न सकस परेको छ । सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती बढेको हो । नेकपा एमाले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका विभिन्न दलले सरकारमा सामेल हुने इच्छा देखाएको माओवादी केन्द्रका एक मन्त्रीले बताए । सबैलाई समेटेर मन्त्रालयको भागबण्डा लगाउन कम चुनौती छैन ।

‘उपराष्ट्रपतिको चुनाव आगामी शुक्रबार सकिन्छ । त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाउँछ,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यू चैत ११ गतेभित्र विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने योजनामा हुनुहुन्छ । विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले चैत ५ वा ८ गते विश्वासको मत लिने तयारी भइरहेको ती मन्त्रीको दाबी छ । तर दलहरुबीच मन्त्रालय भागबण्डाबारे अझै प्रस्ट भइसकेको छैन ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब कांग्रेसले पनि उत्तिकै संख्यामा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले गृह सहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा चर्को दाबी गरेको छ ।उता माओवादी केन्द्रले गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरुले दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय कांग्रेसलाई दिन नसकिने माओवादी केन्द्रका नेताहरु बताउँछन् । यसमा कांग्रेस लचिलो भए गृह मन्त्रालय माओवादीले लिन सक्ने आकलन छ । यदि माओवादीले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् ।सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ ।

चितवन–२ मा हुने उपचुनावमा रास्वपाका सभापति रवि लामिछाने फेरि उम्मेदवार बन्ने र उनी निर्वाचित भएर आएपछि सरकारमा जान सक्ने आकलन छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारको पक्षमा उभिएका रास्वपा बाहेक सबै पार्टी सरकारमा सामेल हुने बताउँछन् । ‘सरकारमा कुन कुन दल जाने ? कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छैन,’ रातोपाटीसँग पौडेलले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै मन्त्रालय भागबण्डाका विषयमा छलफल हुन्छ । अनि सबै टुङ्गो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप