आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँ–१ मा उपनिर्वाचन लड्न कांग्रेसभित्र लविङ सुरु

मङ्गलबार, ३० फागुन २०७९, २१ : २४
मङ्गलबार, ३० फागुन २०७९

पोखरा । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचनको चर्चा सुरु भएको छ । उक्त क्षेत्र रिक्त भएसँगै तनहुँका नेताहरुले उपनिर्वाचनमा उम्मेदवार बन्न लविङ सुरु गरेका हुन् । यद्यपि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचनको घोषणा गरिसकेको छैन ।

तनहुँका कांग्रेस नेताहरुले टिकट हात पार्न दौडधुप सुरु गरेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई पराजित गरेका थिए ।

पौडेलले २५ हजार ३ सय ६१ मत र रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्र प्रतिनिधिसभा सदस्यविहीन भएको हो । उक्त स्थानमा कांग्रेसबाट उपनिर्वाचन लड्न ४ जना नेता आकांक्षीका रुपमा देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले यसअघि टिकट नपाएपछि बागी उम्मेदवारी घोषणासमेत गरेका थिए । नेताहरुले राष्ट्रियसभामा ल्याउने आश्वासन दिएपछि उनी रोकिएका थिए ।

अहिले भट्टराई सो क्षेत्रमा चुनाव लड्न इच्छुक देखिन्छन् । भट्टराईले सभापति देउवालाई १५ फागुनमा भेटेका थिए । भेटमा सभापति देउवाले आफूलाई चुनाव लड्न तयार रहन भनेको उनले बताए । यता नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराईले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने माग गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले पनि तनहुँ–१ मा उम्मेदवार बन्ने अर्का आकांक्षी हुन् ।

यसअघि ०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका उनी ०५४ मा व्यास नगरपालिकाको मेयर भएका थिए । प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पोखरेल पनि उम्मेदवार बन्न इच्छुक देखिन्छन् । उनले फेसबुक स्टाटसमार्फत क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न चाहेको उल्लेख गरेका छन् ।

मंगलबारमात्रै सभापति देउवालाई भेटेका उनले फेसबुकमा लेखेका छन्, ‘मलाई एकपल्ट प्रत्यक्ष निर्वाचन लड्ने अवसर दिइनुपर्छ भन्ने मेरो दाबी छ । पार्टीको केन्द्रदेखि सबै तहसँग हात जोडेर विनम्र अनुरोध छ– मलाई न्याय गरिनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप