शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

लोकदोहोरी नङ्ग्याएर हामी बाँच्नुको अर्थ के रह्यो र ?

लोक तथा दोहोरी गीत प्रतिष्ठान फुट्दैन : रीता थापा मगर
शुक्रबार, ०३ चैत २०७९, ०७ : १७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौं । रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष हुन् । केही दिन अगाडि धादिङको धादिङबेसीमा सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चुनिएकी हुन् । उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

आफू अध्यक्ष चुनिनु भनेको हरेक क्षेत्रमा महिला सक्षम रहेको प्रमाणसमेत भएको उनी बताउँछिन् । पछिल्लो समय प्रतिष्ठान फुट्ने हल्ला चलिरहेको छ भने लोकदोहोरी फोहोरी भयो भन्ने आरोप पनि लाग्दै आएको छ । यो समय प्रतिष्ठानको अध्यक्ष बन्नु भनेको थुप्रै चुनौतीको सामना गर्नु पनि हो । आफू प्रतिष्ठानमा आइपर्ने हरेक चुनौतीको सामना गर्न तयार रहेको उनी बताउँछिन् ।

सोह्रघरे साइली, बुढेसकालमा दोहोरी, झुमरी लगायत थुप्रै गीतकी गायिका समेत रहेकी रीता थापा मगरसँग रातोपाटीले यिनै सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश-

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा चुनिनु भयो, अध्यक्षका लागि कसरत धेरै गर्नुपर्यो होला ?

संगठनमा लागेपछि मेहनत, संघर्ष त गर्नैपर्छ । प्रतिष्ठानमा जुन सोचका साथ विगतका दिनमा मेहनत र  संघर्ष गरेको थिएँ, त्यसको प्रतिफल हो यो ।

प्रतिष्ठानले पहिलो पटक महिला नेतृत्व पाएको छ । यो इतिहास रच्न पाउँदा कस्तो अनुभूति भयो ?

यो एकदमै खुसीको कुरो हो । यसले हामी महिला पनि केहीमा कमी छैनौँ भन्ने प्रमाण पनि हो ।

अध्यक्ष भएपछि के कस्ता चुनौती देख्नु भएको छ ?

 चुनौती धेरै छन् । संस्थाप्रतिको आकर्षणले संस्थागत हुन खोज्ने साथी धेरै हुनुहुन्छ । कतिपय साथीको कार्यसमितिमा बसेर काम गर्ने चाहना हुँदाहुँदै पनि बाहिरिनु परेको छ । उहाँहरुको चित्त दुखेको छ । उहाँ सबैलाई समेटेर लानुछ ।

महिलाले प्रतिष्ठानको नेतृत्व गर्दैगर्दा अग्रज, समकक्षी, जुनियर भाइबहिनी सबै एक ढिक्का बनाउनु छ । म महिला भएको हिसावले यसले सबैलाई समेटेर अगाडि बढ्न सक्छ कि सक्दैन भनेर शंका भइरहेको छ । त्यो शंका गलत साबित गर्दै महिला पनि नेतृत्व गर्न सक्षम हुन्छन् भनेर प्रमाणित गरेर देखाउनुपर्ने छ ।

जिम्मेवारी बहन गर्दा कस्तो अनुभव भएको छ ?

जिम्मेवारी लिएपछि गाह्रो त हुन्छ नै । मेरो कार्यकाल तीन वर्षको छ । आफ्नो कार्यकालमा निर्वाह गर्नुपर्ने हरेक भूमिकामा म चुक्दिनँ । हिम्मतका साथ अगाडि बढ्छु । जुन जिम्मेवारी लिएकी छु, सफलतापूर्वक निर्वाह गर्छु ।

प्रतिष्ठान फुट्यो भनिन्छ नि ?

प्रतिष्ठान फुटेको पनि छैन र कहिलै फुट्दैन । तपाई ढुक्क हुनुस् । प्रतिष्ठानसँग आवद्ध जति पनि सदस्यहरु हुनुहुन्छ, ती सबै कार्यसमितिमा एकै पटक अटाउन सम्भव छैन । निर्वाचनबाट केही समितिमा रहने र केही बाहिर रहने स्वाभाविक हो । केही साथी आफ्नो कारणले संस्थाबाट, साथीभाइसँग टाढा हुनु भएको छ ।

उहाँहरुले मिडियामा  प्रतिष्ठानको बारेमा नराम्रो टिप्पणी दिने गर्नु भएको छ । ती साथीहरुको प्रतिष्ठानप्रति योगदान के छ भनेर तपाईले पनि हेर्दा देखिन्छ । ती व्यक्ति संस्थाले पटकपटक उपस्थितिका लागि पहल गर्दा पनि टाढा रहनुहुन्छ । संस्थाबाट टाढा रहेका उहाँहरुलाई पछिल्लो समयमा भाइबहिनीले पनि नचिन्नु स्वाभाविक हो ।

उहाँहरु आफै अरुसँग भिज्न सक्नुहुन्न, लोकदोहोरी गीत प्रतिष्ठान फुट्छ भनेर हल्ला गरेर हिँड्नुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कहिल्यै फुट्दैन, यो कुरोमा ढुक्क हुनुस् । प्रतिष्ठानको इतिहास, गरिमा र गौरव नियाल्दा त्यो सबै थाहा हुन्छ । मिडियाका साथीहरुलाई पनि कुनै एक व्यक्तिको भन्दा प्रतिष्ठानको गरिमा बुझेर समाचार बनाउन अनुरोध गर्छु ।

संस्थाकै विष्णु खत्री लगायत केही व्यक्ति नयाँ संस्था ल्याउने तरखरमा जुटेका छन्, थाहा छ कि छैन ?

आधिकारिक रुपमा जानकारी छैन । मिडिया तथा सामाजिक संजालबाट केही हल्ला सुनेको हो । उहाँहरु हाम्रा अग्रज हो । सम्मान गर्नुपर्ने व्यक्तित्व हो । कलाकारको हकहित, लोकदोहोरी, लोकसंगीतका लागि भनेर नयाँ संस्था खोल्न लाग्नु भएको हो भने त्यो राम्रो हो । मेरो शुभकामना पनि छ । लोक गीत संगीतको हकहितका लागि हो भने हातेमालो गरेर अगाडि बढ्न केही आपत्ति छैन ।

असन्तुष्ट पक्षलाई समेट्ने कुनै योजना छ कि ?

हरेक महाधिवेशनमा संस्थाको नयाँ नेतृत्व चयनको चुनावी प्रक्रियामा हारजित हुन्छ । जित्ने खुसी र हार्ने दुःखी हुनु स्वाभाविक पनि हो । हार्ने साथीहरुलाई पनि फ्रेस हुनका लागि समय लाग्छ । संस्थाको विभिन्न विभाग गठन हुँदैछ । त्यसमा सबै अटाउनुहुनेछ ।

अहिले तत्कालै गर्नुपर्ने काम के के देख्नु भएको छ ?

हामीसँग संस्थाको भवन छ । तर, कार्यालय व्यवस्थापन भएको छैन । त्यो तत्कालै गर्नु पर्नेछ । त्यसपछि कलाकार, लोक संस्कृति र मौलिक गीतसंगीतको संरक्षण गर्नुछ । कलाकारलाई अनुशासित, नयाँ पुस्तालाई संस्थागत गरेर संस्कार सिकाउने लगायत थुप्रै काम छन् ।

अचेल लोकदोहोरी फोहोरी पनि भएको भनिन्छ । यसलाई सुधार्नु पर्ला नि ?

मिडियाबाट पटक पटक यही प्रश्नको सामना गर्र्नुपर्छ मैले । संस्थाको यस अगाडिको कार्यसमितिले पनि यो विषयमा धेरै काम गरिसकेको छ । ती सबै कुरो बाहिर आएकै छ । अबका दिनमा पनि हामीले यस्ता विषयमा ध्यान पु-याएर प्राथमिकताका साथ अगाडि बढ्नुपर्छ भन्ने छ । यो विषयमा संस्थाले खेल्ने भूमिकामा कुनै पनि कमी हुनेछैन ।

लोक दोहोरीमा अचेल द्विअर्थी शब्द प्राथमिकतामा पर्दै आएको छ । त्यस्ता गीतले चर्चा पाएको अवस्था पनि हो । यो कतिले जायज र कतिले विकृति भनेका छन् । प्रतिष्ठान के भन्छ ?

दर्शकश्रोता रमाउनुमात्र राम्रो होइन । द्विअर्थी शब्द प्रयोग भएका गीत राम्रो होइन भनेर प्रतिष्ठानले भन्दै आएको छ । केही वर्गका दर्शक त्यसमा रमाउलान् । तर त्यसलाई राम्रो भन्न सकिन्न । त्यसले आम्दानी दियो होला । त्योबाट उत्साहित भएर त्यस्तैमा लाग्न मिल्दैन । बरु अर्काे पेसा अपनाउन सकिन्छ । लोकदोहोरी नङ्ग्याएर, बङ्ग्याएर हामी बाँच्नुको अर्थ के रह्यो र ? यो अवस्थामा सम्मानजनक भएर बाँच्ने अवस्था बन्दैन ।

जे भए पनि अहिले लोकदोहोरी व्यापक भएको त छ नि, हैन ?

हो । यही व्यापकताभित्र विवाद आउने खालका गीत रेकर्ड हुनु, बाहिर आउनु, प्रतिष्ठानले केही गर्न सकेन भन्नु गलत हो । हामीले कन्ट्रोल गर्दागर्दै विकृति भित्रिन्छ भने हामी कारवाही गर्न पछि हट्दैनौँ । कतिपयले हाम्रो आग्रह मानेर भिडियोमा धेरै खर्च भएका गीत पनि रोकिदिनु भएको छ । उहाँहरुलाई सम्मान छ । नरोकेकालाई रोक्न र त्यस्तो गीत नबनाउन सबैलाई अनुरोध गर्छु ।

सामुहिक लोक दोहोरीको संस्कृति हरायो भनिन्छ नि ?

त्यो सत्य हो । हामी सबै मिलेर अब यसलाई फेरि प्राथमिकतामा ल्याउनुपर्छ ।

लोक दोहोरीमा ठेट नेपाली भाका छैन, किन ?

छैन होइन, धेरै राम्रा र ठेट नेपाली भाकाका गीत संगीत बजारमा भित्रिएका छन् । त्यो मिडिया, दर्शक, श्रोताको माझमा पुग्न भने सकेको छैन । जसले द्विअर्थी शब्दका गीत बनाउँछ, त्यसले गीतको प्रचारप्रसार गर्नै पर्दैन । मौलिक गीतसंगीत सधैँ ओझेलमा पर्छ । मौलिक गीतले प्राथमिकता नपाएको अवस्था भने हो ।

राम्रा गीत र त्यसका स्रष्टाका लागि प्रतिष्ठानले के सोचेको छ त ?

राम्रा गीत ल्याउने स्रष्टा र उहाँहरुको सिर्जनालाई प्रतिष्ठानले संरक्षण, पुरस्कृत र प्राथमिकता लगायतका क्रियाकलाप गर्छ । त्यो मैले पहिलो बैठकमा पारितसमेत गरेको छु । जसले राम्रा लोक तथा दोहोरी गीत निकाल्नु हुन्छ, वर्षमा एक महिला र एक पुरुषलाई संस्थाले पुरस्कृत समेत गर्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप