शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छ : प्रमुख सचेतक गिरी

शनिबार, ०४ चैत २०७९, १७ : ३२
शनिबार, ०४ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका  छन् । शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुले गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । उनले यसलाई टुंगोमा पुर्याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने समेत बताए । 

उनले भने, ‘यो विषय यहाँ पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ । तर समितिमा गएर व्यापक रुपले छलफल गरेर यसलाई टुंगोमा पुर्याउनुपर्छ । संसदबाट हतारका साथ पारित गरेर जानु हुँदैन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ ।’

प्रमुख सचेतक गिरीले आइतवार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएको समेत बताए ।उनले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । उनले सो विषयमा आइतवार साढे १० बजे काँग्रेसले बैठक बसेर यसबारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी दिएको समेत बताए । प्रमुख सचेतक गिरीले प्रतिनिधिसभा नियमावली अहिलेसम्म संसदमा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले संसदीय गतिविधिलाई मध्यनजर गरी आइतवारको संसद बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएका बताए ।

उनले भने, ‘सिट व्यवस्थापनको विषयमा छलफल भयो । नेकपा एमालेले हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा छौँ, त्यही हिसावले सिट व्यवस्थापन हुनुपर्छ भनेर माग गरेका छौँ । नेपाली काँग्रेसका रमे लेखकज्युले भोलि नै यो विषयमा साढे १० बजे बैठक बस्छौँ, त्यसपछि हाम्रो धारणा सार्वजनिक गर्छौं, भोलि बैठक १ बजेपछि हुने भएकाले साढे १० बजे नै बैठक बसेर धारणा बाहिर ल्याउँछौँ भन्नुभएको छ ।’ 

गिरीले भने, ‘अर्को कुरा प्रतिनिधिसभा नियमावली अहिलेसम्म संसदमा पेस पनि भएको छैन, छलफल पनि भएको छैन, संसदका समितिहरु बन्न नसक्ने र अरु कामहरु पनि अघि बढ्न नसकेको अवस्था छ । भोलि नै पेस गर्ने, छिटो भन्दा छिटो अघि लैजाने कुरालाई मध्यनजर गरी भोलि नै पेस गर्ने सहमति गरेका छौँ ।’
प्रमुख सचेतक गिरीले प्रतिनिधिसभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडोभन्दा चाँडो अघि बढाउनुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप