बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कार्टुनका बादशाहको गृहनगरमा रथारोहण

शनिबार, ०४ चैत २०७९, २० : ४०
शनिबार, ०४ चैत २०७९

पोखरा । ‘मलाई सम्झना छ । एउटा ठुलो रुखबाट पात खसेको छ । घटना के थियो भने नेपाली कांग्रेसका तत्कालीन महामन्त्री पर्शुनारायण चौधारीले पार्टी छाडेर पञ्चायत प्रवेश गर्नुभएको थियो,’ कवि तीर्थ श्रेष्ठले भने, ‘दाइले एउटा कार्टुन बनाउनुभयो । त्यो ठुलो पीपलको रुखबाट पात झर्‍यो । त्यो पातको आकार थियो—पर्शुनारायण चौधारीको ।’ 

पोखरामा फेवातालको बाँध भत्किँदा बिजुली बत्ती बल्न छाडेको थियो । तर मिटर रिडिङ हुँदो रहेछ । त्यही बेला विश्व शाक्यको सम्पादकत्वमा छापिने पत्रिकामा कार्टुन आएछ । जहाँ लाल्टिन बालेर मिटर रिडिङ भइरहेको थियो । त्यो कार्टुन पनि उनैले बनाएका थिए । उनी अर्थात् कार्टुनिस्ट दुर्गा बराल वात्स्यायान । शनिबार उनको नागरिक अभिनन्दन समारोहमा कवि तीर्थले ती दुई कार्टुनका प्रसङ्ग सुनाए । 

कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायान’लाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको थियो । कार्यक्रममा बोल्दै कवि श्रेष्ठले बरालका योगदान सम्झिए । कवि श्रेष्ठ वात्स्यायानले समाजका विकृति, विसङ्गति र सांस्कृतिक विचलनको विरुद्धमा कार्टुनका माध्यमबाट प्रजातन्त्रका लागि योगदान पुर्‍याएका बताए । 

नदीपुरस्थित वात्स्यायानको घरबाट सुरु भएको रथयात्रा नदीपुर, बगर, हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । उनको सम्मानमा स्थानीयले घर र दैलादैलामा जलघडाले स्वागत गरेका थिए । पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरूले वात्स्यायानको रथारोहण गरेका हुन् ।

उनी चैत ५ गते ८० वर्ष पूरा गरी ८१ वर्ष पुग्दैछन् । सोही अवसरमा अभिनन्दन गरिएको हो । साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठसहित अगुवा आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेल लगायतले कलाकार बराललाई अभिनन्दनपत्र अर्पण गरे । त्यस अवसरमा बराल र उनकी जीवनसाथी पार्वती बराललाई सुनको सिक्रीसमेत अर्पण गरिएको थियो । 

पोखरालाई चित्रकलामा ‘पानी रङको पाठशाला’का रूपमा स्थापित गर्दै अनुजहरूलाई पनि दीक्षित गर्न बरालले योगदान गरेको श्रेष्ठले सुनाए । ४ वटा एकल चित्रकला प्रदर्शनी गरिसकेका बरालको पहिलो प्रदर्शनी सन् १९७३ मा नेपाल ललित कला प्रतिष्ठान, काठमाडौँमा भएको थियो । नेपाली कला क्षेत्रमा लामो समय काम गरेको र यस क्षेत्रमा पुर्‍याएको योगदानका लागि बरालले दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् । 

कार्यक्रममा साहित्यकार सरुभक्तले वात्स्यायान महाकलाकार भएको बताए । ‘उहाँका चित्रकला देश तथा विदेशमा सङ्गृहीत भएका छन् । उहाँ विश्वस्तरीय चित्रकला कोर्न सक्ने चित्रकार हुनुहुन्छ,’ साहित्यकार सरुभक्तले भने, ‘दुर्गा बरालले नेपाली चित्रकलाकारलाई १० वर्ष अगाडि पुर्‍याइदिनुभएको छ । उहाँ यति अगाडि बढ्नुभएको छ कि उहाँलाई कसैले भेट्न सकेका छैनन् । म उहाँलाई पोखरामा जन्मेर विश्वस्तरीय चित्रकारको रूपमा चिन्छु ।’ दुर्गा बराल कला क्षेत्रमा निरन्तर साधनाले ऋषित्व प्राप्त गरेको व्यक्ति भएको सरुभक्तले बताए । 

सरुभक्तले कलाकार दुर्गा बराललाई ऊ जमानामै नाट्य सम्राट बालकृष्ण समले साल्भाडोर डालीसँग तुलना गरेको सम्झना पनि गरे । बरालका कला प्रदर्शनी हेरेपछि समले विश्वका महानतम् कलाकार डाली नेपालमै हुर्कँदै गरेको भनेर प्रतिक्रिया जनाएको सरुभक्तले सुनाएका थिए । 

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले वात्स्यायानलाई अभिनन्दन गर्न पाउँदा पोखरा नै धन्य भएको बताए । उनले पहिलोपटक महेन्द्रपुलको साइबर क्याफेमा वात्स्यायानसँग आफ्नो चिनजान भएको स्मरण पनि गरे । ‘घरको कम्प्युटर बिग्रिएर काठमाडौँ कार्टुन पठाउन पोखराको महेन्द्रपुलको साइबरमा स्क्यान र इमेल गर्न आउनुभएको रहेछ । डिप्लोमा तालिम गरेको मैले उहाँलाई कम्प्युटर बनाइदिन्छु भनेर अनुमति मागेँ,’ उनले भने, ‘आफूले साह्रै मन पराएको र श्रद्धा गरेको उहाँसँग केही समय भए पनि बिताउन पाउने लोभ थियो । घरमा गएँ कम्प्युटर पनि बन्यो, पछि कम्प्युटरमा समस्या पर्दा फोन गरेर बोलाउनुहुन्थ्यो ।’ 

कार्टुनको क्षेत्रमा वात्स्यायान उपनामबाट चिनिएका बराल नेपालको सर्वोकृष्ट कार्टुनिस्टका रूपमा स्थापित छन् । उनले साठीको दशकबाट २० वर्षे कलिलो उमेरमै नयाँ सन्देश साप्ताहिक पत्रिकामार्फत कार्टुन करिअर सुरु गरेका थिए । उनका रचनाहरू हास्यचेतमा आधारित हुन्थे । अन्तर्राष्ट्रिय स्तरको विशिष्ट कार्टुनिस्टका रूपमा आफूलाई विकास गरेका उनले साहित्यिक पत्रिका प्राङ्गण र राष्ट्रपुकार मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमाडौँ पोस्ट जस्ता पत्रपत्रिकामा काम गरेर अनुभव छ । कला क्षेत्रमा पाँच दशकभन्दा बढी समय बिताइसकेका बरालले नेपाली राजनीतिक विकृति र त्यसको कुरूप तस्बिरलाई कलामार्फत जीवन्त देखाइदिएका छन् । बरालले आफूले अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धि पोखराकै कारण प्राप्त गर्न सफल भएको सुनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप