शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

मिटरब्याज पीडितको चेतावनी : न्याय नपाए सरकारकै अगाडि मर्छु (भिडियोसहित)

मङ्गलबार, ०७ चैत २०७९, १७ : ४५
मङ्गलबार, ०७ चैत २०७९

जनकपुरधाम । आइतबार दिउँसो करिब तीन बजेतिर सर्लाहीको बागमती नगरपालिका–१२, पुतली चोकमा ‘मिटरब्याज पीडित’ को एउटा हुल भेटियो । उनीहरु आन्दोलन गर्न भनेर विभिन्न ठाउँबाट हिँडेर काठमाडौं जाँदै थिए ।

मिटरब्याज पीडितहरु ‘तमसुक व्यवस्था खारेज गर’ नारा लेखिएको ब्यानर बोकेर बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौं गइरहेका थिए । धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीसहित मधेसका पाँच जिल्लाबाट पीडितहरु काठमाडौंतर्फ पैदल गएका हुन् ।

meter byaj (3)

मिटरब्याज बिरुद्धको संघर्ष समितिका कुमार बर्तौलाले दिएको जानकारीअनुसार हेटौंडाबाट पनि मिटरब्याज पीडितहरु उक्त यात्रामा सहभागी हुँदैछन् ।

सोही यात्रामा थिइन् धनुषाको गणेशमान चारनाथ नगरपालिका–८, लवटोलीका लक्ष्मीनिया देवी दास । सरकारसँग न्याय माग्न आफूहरु यसरी हिँडेको उनले बताइन् ।

उनले भनिन्, ‘न्याय माग्न सरकारकहाँ जाँदैछु, न्याय पाए घर फर्किन्छु, नपाए सरकारकै अगाडि मर्नु परे मर्छु ।’

meter byaj (2)

मिटरब्याजीले घरमा बस्ने अवस्था पनि नरहेको उनको भनाइ छ । आफूहरुले पटकपटक आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि काठमाडौंमै गएर आन्दोलन गर्ने विकल्प रोजेको उनी बताउँछिन् ।

उनले मिटरब्याजीबाट मात्रै नभई लघुवित्तबाट पीडित भएकाहरु पनि मोर्चामा सहभागी भएर आन्दोलनमा उत्रिएको बताइन् । बेला बखत जरुरी पर्दा गाउँमा साहुसँग एक लाख रुपैयाँ लिएको तर मिटरब्याजीलाई एक महिनामै दश हजार तिर्नुपरेको उनको भनाइ छ । मिटरव्याजीलाई तिर्न लघुवित्तबाट कर्जा लिँदा यता साहुको मिटरब्याज र उता लघुवित्तको चंगुलमा नराम्ररी फस्नु परेको उनले बताइन् । ‘एक लाख रुपैयाँ लिए पनि विभिन्न किस्ता तिर्दासमेत अझै २० लाख रुपैयाँ तिर्न बाँकी देखाउँछ,’ उनले भनिन्, ‘त्यही भएर आन्दोलनमा उत्रिनुको विकल्प नै रहेन ।’

उनका श्रीमान् करिब १३ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । श्रीमान्ले महिनामा ३० हजार पठाउने गरेको तर त्यो रकम दुई छोरा र एक छोरीको लालनपालनमा खर्च हुने उनी बताउँछिन् । उनले भनिन्, ‘विदेशमा कमाएको पैसाले न लघुवित्तलाई तिर्न भ्याउँछ, न मिटरब्याजीलाई नै । जति तिरे पनि मिटरब्याजीको ऋण चुकाउन सकिएन ।’

meter byaj (1)

उनी छोराछोरीको हेरचाहको जिम्मा छिमेकीलाई दिएर आफू आन्दोलनका लागि काठमाडौं हिँडेको बताउँछिन् । ‘मिटरब्याजीहरुले भएको सबै पैसा लिसक्यो अब त छोराछोरीको पढाईलेखाईमा पनि समस्या आउने भयो,’ उनले भनिन् ।

पैदल काठमाडौं गइरहेको टोलीमा ५५ महिला र १५ जना पुरुष छन् । चैत २ गते बर्दिबासबाट सुरु भएको मार्च मंगलबार बाराको जिल्ला पसाहा खोला पुगेको छ । काठमाडौं पुगेर उनीहरु प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने तथा सडक तथा संसद भवन नयाँ बानेश्वरमा समेत प्रदर्शन गर्ने योजनामा छन् ।

दाल, चामलदेखि लिएर खाना पकाउने सामग्रीहरू समेत लिएर उनीहरु हिँडेका छन् । न्याय नपाएसम्म घर नफर्किने उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप