शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

१/२ दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रचण्ड

बालुवाटारमा शीर्ष तहमा छलफल हुँदै
बिहीबार, ०९ चैत २०७९, १६ : ३२
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रचण्डले शीर्ष नेतृत्वसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सल्लाह गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले  बुधवार पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी(जसपा)सहितका गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेका थिए । 

सो क्रममा संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकारका विषयमा समेत छलफल भएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । ‘संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारका विषयमा हिजो शीर्ष नेतृत्ववीच छलफल भयो । आज बेलुका अनौपचारिक शीर्ष नेतृत्ववीच छलफल हुने छ,’ ती सचिवालय सदस्यले भने, ‘शीर्ष नेतृत्ववीच समझदारी भएमा आ–आफ्नो पार्टीमा छलफल गरेर सत्ता भागवण्डाका विषयमा टुङ्गो लाग्ने छ ।’ 

अबको १/२ दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने ती सचिवालय सदस्यले दाबी गरे । काँग्रेस, एकीकृत समाजवादी, जसपा र जनमत पार्टी सरकारमा जाने भएपछि शीर्ष नेतृत्ववीच छलफल जारी छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सरकारमा जाने विषयमा अलमल देखिएको छ । लोसपाले सरकारमा जान इच्छा देखाए पनि सत्ता साझेदार दलले रुचि देखाएका छैनन् । रास्वपालाई सरकारमा ल्याउन खोजिए पनि पार्टीभित्रै दुई धार देखिएकाले समस्या भएको बताइएको छ । 

एउटा समूह सभापति रवि लामिछाने  उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि सरकारमा जानुपर्ने पक्षमा छ । अर्को समूह भने तत्काल सरकारमा जानुपर्ने पक्षमा छ । एउटै पार्टीमा दुई धार देखिएपछि सरकारमा जाने विषयमा अलमल भएको हो ।

प्रभावशाली मन्त्रालयमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी तीन दलले दाबी गरेका छन् । अर्थ मन्त्रालय काँग्रेसले लिने सम्भावना देखिएको छ । गृह मन्त्रालयमा काँग्रेस सहित माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गृह आफैँसँग हुने अडान लिएपछि काँग्रेस र एकीकृत समाजवादीले धेरै दबाब नदिने अवस्थामा पुगेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । यदि माओवादीले गृह लिएमा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्ती दाबेदार देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप