मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

एमालेले सरकार नछोड्दा कांग्रेस सशंकित, मुख्यमन्त्री जम्कट्टेल समस्यामा

बिहीबार, ०९ चैत २०७९, १७ : ०८
बिहीबार, ०९ चैत २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल गत बुधबार संसदबाट विश्वासको मत लिने तयारी गरे पनि सफल हुन सकेनन् । बुधबार दिउँसो ३ बजेका लागि आह्वान गरेको प्रदेशसभा बैठकमा केन्द्रीय सत्ता गठबन्धनमै रहेको दल नेपाली कांग्रेस उपस्थित नहुँदा बैठक नै स्थगित गर्नुपर्ने बाध्यता आएको थियो ।

पछिल्लो समय केन्द्रीय तहमा बनेको सत्ता साझेदार गठबन्धनमा एमाले सामेल नभए पनि बागमती प्रदेशमा एमाले सत्तामै छ । केन्द्रमा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा छ । केन्द्रमा सत्ता त्यागेको एमालेले बागमती प्रदेशमा भने माओवादी नेतृत्वको सरकार छाड्न सकेको छैन ।

सत्ता समीकरण आफू अनुकुल नहुँदा पनि एमालेले प्रदेश सरकारमा ४ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ । एमालेले न राजीनामा दिएर सरकार छाडेको छ, न त मुख्यमन्त्रीले नै उसलाई सरकारबाट हटाउन सकेका छन् ।

एमालेले सरकार नछाड्दा कांग्रेस भने सशंकित बनेको छ । प्रदेश सरकारमा एमालेबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एकलाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा छन् ।

कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सरकारबाट एमाले अलग हुनुपर्ने माग गर्दै आएको छ । जस अनुसार सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले दबाब बनाइरहेको छ ।

आन्तरिक छलफल र केही विषय टुङ्ग्याउन बाँकी रहेका कारण देखाउँदै बुधबारको प्रदेशसभा बैठकमा अनुपस्थित भएको कांग्रेसले सोही दिन काठमाडौंको एक क्याफेमा संसदीय दलको बैठक राखेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, एमालेले सरकारबाट राजीनामा नदिँदा केन्द्रको समीकरणभन्दा फरक नतिजा आउन सक्ने कांग्रेसको आशंका छ ।

सरकारमा सहभागी हुन तयारी अवस्थामा रहेको कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा एमाले पनि देखिन सक्ने भन्दै मुख्यमन्त्रीसमक्ष आफ्नो शर्त पूरा गर्न दबाब बढाउँदै आएको छ । यता एमालेलाई भने सत्ता त्याग्न कठिन भएको छ । जस अनुसार एमालेका मन्त्रीहरुले सत्ता समीकरण आफू अनुकुल नहुँदासमेत राजीनामा दिन र सरकारप्रतिको समर्थन फिर्ता लिन सकेको देखिँदैन ।

एमाले राजनीतिक चलाखीपूर्वक कांग्रेस र माओवादी बिच द्वन्द्व निम्त्याउने रणनीतिमा रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । एमाले यतिबेला कांग्रेस र माओवादी बिचको असमझदारीलाई हल हुनबाट रोक्ने प्रयत्नमा लागेको उनीहरुको बुझाइ छ । सत्ता राजनीतिमा एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएर सरकारमै टिकीरहने दाउ राखेको उनीहरु बताउँछन् ।

संविधानसभा सदस्य प्रह्लाद लामिछानेका अनुसार एमालेले प्रदेश सरकारमै रहेर सत्ता समीकरण प्रभावित बनाउने प्रयत्न गरे पनि हालको परिस्थिति बदल्न उसलाई कठिन छ । समीकरण अनुसार एमालेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भए पनि कांग्रेस र माओवादीबिच फाटो ल्याउने प्रयासमा लागेको उनको भनाइ छ ।

सरकारमा सहभागिताको विषयमा कांग्रेस र माओवादीबिच केही असमझदारी रहँदा एमालेले त्यसको फाइदा उठाउन सक्ने भएकाले मुख्यमन्त्रीले त्यसको समाधान गर्नुपर्ने उनी बताउँछन् । मुुख्यमन्त्री जम्कट्टेलले कांग्रेसलाई विश्वास दिलाउन अनुकुलता हेरेर एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेर अघि बढ्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

समस्यामा मुख्यमन्त्री जम्कट्टेल

कांग्रेसका सांसद अनुपस्थित भइ प्रदेशसभा बैठक स्थगित हुँदा मुख्यमन्त्री भने समस्यामा देखिएका छन् । सत्ता गठबन्धनको दल नै प्रदेशसभा बैठकमा उपस्थित नहुँदा मुख्यमन्त्री जम्कट्टेललाई सरकारको निरन्तरताको विषयमा समस्या देखिएको हो ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था छ । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री नियुक्त भएको ६७ दिनमा दोस्रो पटक संसदबाट विश्वासको मत लिने तयारी गरेका जम्कट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलका ११० सांसदमध्ये मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ४ वटा दलका सांसदले मत दिने देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये सत्ता गठबन्धनबाट मााओवादी केन्द्रका २१, कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मत दिने देखिएको छ ।

राप्रपाका १३, नेमकिपाका ३ जना सांसदले उनको विपक्षमा मत दिने पक्कापक्की छ भने एमालेले संसद बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेर सरकारबाट बाहिरिने र विपक्षमा मत दिने तयारी गरेको छ । यद्यपि एमाले सरकारमै रहेकाले सो विषयको औपचारिक निर्णय भने हुन सकेको छैन । प्रदेशसभामा एमालेका २७ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप