मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कांग्रेसका कारण मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव २ दिन लम्बियो

चैत १० को बैठकमा एमाले अनुपस्थित हुने संकेत
बुधबार, ०८ चैत २०७९, १९ : ४०
बुधबार, ०८ चैत २०७९

मकवानपुर । नेपाली कांग्रेसका सांसदहरु उपस्थित नहुँदा बुधबार बागमती प्रदेशसभा बैठक प्रभावित भएको छ । कांग्रेसका सांसद उपस्थित नहुँदा बुधबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमा छलफल गरी निर्णयार्थ पेस गर्ने कार्यसूचीका लागि बुधबार बोलाइएको प्रदेशसभा बैठक बस्न नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो । प्रदेशसभा सचिवालयले विशेष कारण बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक चैत १० गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव टेबुल हुने र छलफल अघि बढाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयबाट १० गतेका लागि बैठक सार्न आधिकारिक रुपमा पत्राचार हुनका साथै सभामुख भुवन कुमार पाठक र मुख्यमन्त्री जम्कट्टेल बिच भएको छलफलको निर्णय अनुसार बैठक स्थगितका लागि सूचना टाँस गरिएको प्रवक्ता गुप्ताले बताए ।

दलहरूबिच संसद् सञ्चालन गर्नेबारे ठोस सहमति नभएपछि मुख्यमन्त्री जम्कट्टेलले चैत १० गते विश्वासको मत लिने व्यहोराको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

सोही अनुसार बुधबारका लागि बैठक बोलाइएको थियो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

केन्द्रमा बनेको गठबन्धन आबद्ध दल कांग्रेसले आन्तरिक छलफल र केही विषयहरु टुङ्ग्याउन बाँकी रहेका कारण देखाउँदै बुधबारको प्रदेशसभा बैठकमा अनुपस्थित भएको थियो । कांग्रेसले संसदीय दलको बैठकबाट उक्त विषयहरु टुङ्ग्याउनु पर्ने भएकाले केही दिन समय माग गरेको हो । बुधबार नै काठमाडौंको एक क्याफेमा कांग्रेस संसदीय बैठक बसेको थियो । बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरे पनि सरकारका बारेमा गठबन्धन दलको सहमति अनुसार अघि बढ्ने निर्णय गरेको छ ।

कांग्रेसले सरकारमा सहभागिता र संसदीय समितिसहित प्याकेजमा सहमति गर्ने प्रस्ताव गरेको थियो । बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकारको नेतृत्व, सहभागिताका विषय टुङ्ग्याउन संसदीय दलको बैठक बस्नु पर्ने भएकाले बुधबारको बैठकमा उपस्थित हुन नसकेको बताए । 

कांग्रेसले चैत १० गते विश्वासको मत लिन मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले सुझाव दिएको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले १० गतेकै लागि बैठक सार्न सभामुख समक्ष प्रस्ताव गरेको र बैठक सारिएको हो ।

कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सरकारबाट एमाले अलग हुनुपर्ने माग गर्दै आएको छ । सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले दबाब दिइरहेको छ ।

एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट आफू बाहिरिने शर्त राखेको छ ।

यद्यपि एमालेले चैत १० र ११ गते आफ्नो पूर्व निर्धारित पार्टी अभियान रहेकाले उपस्थित हुन नसक्ने जनाउँदै १२ गतेका लागि बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई अनुरोध गरेको छ । तर संसद् सचिवालयले चैत १० मा बैठक आह्वान गरेको सूचना जारी गरेपछि मात्र एमाले संसदीय दलको पत्र सचिवालयमा पुगेको छ । सो अवस्थाका कारण चैत १० गतेको बैठकमा एमालेका सांसदहरु उपस्थित नहुने एमालेका एक नेता बताउँछन् ।

एमालेले संसद् बैठक सार्न आग्रह गरे पनि मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको मितिका विषयमा कसैको अनुकुलतामा हेरफेर गर्न असमर्थ हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

१० गतेको बैठक सर्दैन : मुख्यमन्त्री जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेलले गठबन्धन दलभित्रको केही समस्याका कारण आजको बैठक बस्न नसकेको बताए । उनले गठबन्धन दलहरुसँग पर्याप्त छलफल गरेर विश्वासको मत सम्बन्धी प्रस्ताव अघि सारे पनि केही आन्तरिक समस्याका कारण प्रदेशसभा बैठक बस्न नसकेको बताए ।

सरकारको नेतृत्वको विषयभन्दा पनि वर्तमान परिस्थितिमा कायम रहेको सरकारको आधिकारिकता महत्त्वपूर्ण रहेकाले यसैमा केन्द्रित हुनुपर्ने उनको धारणा छ । उनका अनुसार सरकारको नेतृत्वको विषय केन्द्रीय तहको भएकाले अहिले प्रदेशको गतिविधि नै अघि बढाउनु पर्ने जिम्मेवारी प्रमुख हो ।

कांग्रेसले भने अनुसार पहिले एमालेले राजीनामा प्राप्त हुनुपर्ने भए पनि त्यसो हुन नसक्दा र कांग्रेसभित्र सरकारमा सहभागी हुने विषयमा केही छलफल बाँकी रहेकाले बैठक सार्नुपरेको उनको भनाइ छ ।

‘गठबन्धनको समीकरणमा रहेका दलहरु बिचको केही समस्याका कारण बैठक बस्न सकेन । सबैसँग पर्याप्त छलफल गरेरै मैले विश्वासको मत सम्बन्धी प्रस्ताव अघि सारेको हुँ । तर, केही तयारी र आन्तरिक समस्याका कारण बैठक बस्न सकेन । अहिलेको प्रदेशसभा बैठक बस्न नसकेको परिस्थितिमा कांग्रेसको माग अनुसार रिजल्ट प्राप्त नहुनु नै मुख्य कारण हो,’ उनले भने ।

सरकारको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र र एकीकृत समाजवादी सबैको दाबी रहेको र त्यो स्वाभाविक भएको पनि उनले बताए । तर, त्यसभन्दा पहिले कायम रहेको सरकारको आधिकारिकता महत्त्वपूर्ण विषय भएकाले त्यसैमा केन्द्रित हुनुपर्ने उनले बताए ।

चैत १० गते प्रदेशसभा बैठक सञ्चालन हुने र त्यसमा कुनै पनि समस्या नरहेको उनले बताए । विश्वासको मत सम्बन्धी प्रस्ताव १० गते पछि सार्ने अवस्था नरहेको उनको भनाइ छ । प्रदेशसभाको उक्त बैठकमा एमाले र सो पार्टीबाट मन्त्री बनेकाहरु उपस्थित हुने उनको विश्वास छ ।

पछिल्लो समय निर्माण भएको राजनीतिक समीकरण अनुसार एमालेले सरकारबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको विषय आफूलाई बुझ्न कठिन भएको मुख्यमन्त्री जम्कट्टेलको गुनासो छ । एमालेका मन्त्रीहरुले प्रदेशसभा बैठकमा बोलेर मात्र राजीनामा दिने अडान राखेको र उक्त विषय गठबन्धन दलहरु समक्ष राखेर सकारात्मक प्रतिक्रिया लिएको उनले बताए ।

‘प्रदेशसभाको उक्त बैठकमा एमालेबाट मन्त्री बन्नु भएकाहरु आउनुपर्ने बाध्यता छ । उहाँहरुको पार्टीको कार्यक्रम छ, त्यस दिन नगर्न पाए हुन्थ्यो भन्ने उहाँहरुको कुरा हो,’ उनले भने, ‘विश्वासको मत सम्बन्धी प्रस्ताव १० गते पछि सार्ने अवस्था छैन । बैठक सर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप