बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेश सरकारको समर्थनबारे एमालेमा दुई धार

मङ्गलबार, १६ फागुन २०७९, ०९ : ०५
मङ्गलबार, १६ फागुन २०७९

हेटौँडा । राष्ट्रपति निर्वाचनको लागि केन्द्रीय तहमा बनेको सत्ता समीकरण फेरबदलको असर बागमती प्रदेश सरकारमा पनि देखिएको छ । सत्ता समीकरण परिवर्तन भएसँगै सङ्घीय सरकारबाट राप्रपा र नेकपा एमाले सरकारको समर्थन फिर्ता लिएका छन् भने आफ्ना मन्त्रीहरुलाई समेत राजीनामा गर्न लगाएका छन् ।

गत शनिबार सङ्घीय सरकारको समर्थन फिर्ता लिँदै राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए भने एमालेले हिजो सोमबार मात्र सरकारको समर्थन फिर्ता लिँदै मन्त्रीहरूको राजीनामा पेस गरेको थियो ।

केन्द्रीय निर्देशन अनुसार राप्रपाले बागमती प्रदेश सरकारबाट पनि अलग भइसकेको छ । गत शनिबार नै राप्रपाले माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्दै ३ मन्त्रीले राजीनामा दिएका थिए । विचार सिद्धान्तमा भिन्नता भएको र पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिको कारण सरकारमा बसिरहन नसकिने भन्दै राप्रपा सरकारबाट अलग भएको थियो ।

एमालेमा सरकार छाड्ने विषयमा २ धार

यता एमाले भने यस विषयमा २ धार देखिएको छ । एमालेका केही मन्त्रीहरू तत्काल सरकार छाड्नु पर्ने भन्दै केन्द्रको निर्देशन कुरिरहेका छन् भने केही मन्त्रीहरू केन्द्र र प्रदेश अलग भएकाले अहिले नै सरकारबाट बाहिरिने परिस्थिति नरहेको बताउँदै आएका छन् ।

नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा श्रम, यातायात तथा रोजगार मन्त्री रहेका एकालाल श्रेष्ठले तत्काल सरकार छाड्नु पर्ने बताउँछन् । उनले केन्द्रको निर्देशन अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले पदबाट राजीनामा दिनु पर्ने बताएका हुन् ।

‘हामीले सरकारमा बस्नु पर्ने परिस्थिति सकिएको छ । हामीले अब सरकार छाड्नु पर्छ ।’ उनले भने, ‘केन्द्र कै अनुसार प्रदेशमा पनि पार्टीले सरकार छोड्न सक्छौ । केन्द्रको निर्देशनको पर्खाइमा हरेका छौ । हामी कुनै पनि समयमा मन्त्रीबाट राजीनामा दिन सक्छौ ।’

यता एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया भने प्रदेश सरकारबाट भने तत्काल नबाहिरिने बताउँछन् । प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका थपलियाले तत्काल प्रदेश सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताए ।

उनले केन्द्रीय राजनीतिको कोर्स परिवर्तन भएसँगै सङ्घीय सरकारबाट बाहिरिए पनि  प्रदेश सरकारबाट भने तत्काल नबाहिरिने बताए । केन्द्रीय सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिए पनि प्रदेशमा तत्काल सरकार छोडी हाल्ने निर्णय नभएको उनको भनाइ छ । केन्द्र र प्रदेशको परिस्थिति फरक भएकाले सरकार छाडने विषयमा निर्णय नभएको उनको भनाइ छ ।

‘केन्द्र र प्रदेशको कुरा फरक छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशमा पनि हुनुपर्छ भन्ने छैन । हामीले तत्काल प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छैनौ र छोड्दैनौँ ।’ उनले भने, ‘अर्को कुनै घटना नभएसम्म सरकार छोड्ने कुनै मनस्थितिमा छैन । सरकारबाट बाहिरिने विषयमा पार्टीको प्रदेश समितिले नै निर्णय गर्नेछ । पछिल्लो समय बदलिएको राजनीतिको बारेमा पार्टी भित्र छलफल भने भइरहेको छ ।’

एमालेबाट प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका केशव प्रसाद पोखरेलले अझै केही दिनसम्म प्रदेश सरकारबाट बाहिरिने परिस्थिति नरहेको बताए । केन्द्रबाट पनि तत्काल कुनै पनि निर्देशन नआएको र प्रदेशको राजनीतिक परिस्थिति फरक भएकाले हाल कै अवस्थामा सरकारका गतिविधि केही दिन चल्ने उनले बताए ।

राजनीति सम्भावना र अङ्क गणितको खेल भएकाले अहिलेको परिस्थितिमा कोर्स परिवर्तन स्वाभाविक भएको उनको भनाई छ । सरकारमा बस्ने वा छोड्ने बारे थप परिस्थितिको मूल्याङ्कन गरेर मात्र निर्णय हुने उनले बताए ।

‘सम्भवतः माघ २५ गतेसम्म यही परिस्थितिमा सरकार चल्छ । हामीलाई केन्द्रको कुनै निर्देशन आएको छैन । प्रदेशको राजनीतिक परिस्थिति पनि फरक छ । यो अझै केही दिन जान्छ ।’ उनले भने ‘राजनीति सम्भावनाको खेल हो । मिनेट मिनेटमा कोर्स परिवर्तन हुने अवस्था बनेको छ । अहिले तरलताको अवस्थामा केही समय पर्खिएर मात्र निर्णय गर्ने हाम्रो तयारी छ ।’

उनका अनुसार केन्द्रले भन्दा पनि प्रदेश तहबाट नै सरकारको निर्णय गरेर अघि बढ्दा पनि सकारात्मक सन्देश जान सक्नेछ । त्यस तर्फ पनि पार्टीले छलफल गरिरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप