शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई लघुकथा

शनिबार, ११ चैत २०७९, ०९ : ०५
शनिबार, ११ चैत २०७९

१. निरुत्तर

“बाबुको पढाई कस्तो भएको छ ?” राकेशले सोध्यो । 

“राम्रो छ, आज मैले राम्रो होमवर्क गरेर चकलेट पनि खान पाएँ ।” छोराले भन्यो । 

“मामुलाई दुःख त दिएको छैन नि है बेटा ?” उसले पुनः सोध्यो । 

“सबै कुरा मान्छु । दुःख दिन्न ।” छोराले भन्यो । 

“बाबुलाई के पठाऊँ अब ?” उसले छोरालाई प्रश्न गर्‍यो । 

“दिपाञ्जलको जस्तै प्लेन पठाइदिनु न ।” छोराले भन्यो । 

यसरी राकेशले प्रश्न गर्दै गयो, छोराले उत्तर दिँदै गयो । अन्तमा छोराले एउटा मात्र प्रश्न गर्‍यो, “बाबा हजुर अब घरमा कहिले आउनुहुन्छ ?” 

तर राकेशसँग छोराको यही एउटा प्रश्नको भने जवाफ थिएन ।

२. गाह्रो काम

बसको सिटमा सँगै बसेको यात्रीसँग हरिप्रसादजीले सोधे “कति दिनको बसाइँ हुन्छ राजधानीमा हजुरको ?” 

अर्को सहयात्रीले भने, “कति दिन लाग्छ, थाहा छैन । संघीयता भन्छन् तर ससाना काम पर्दा राजधानी धाउनु पर्छ । अझ यो बाटोको धुलो कति खानु छ ।” 

यतिकैमा यौटा झण्डा भएको गाडी हुइँकियो । 

“नेताहरूलाई कति सजिलो छ । वातानुकूलित सवारीमा जहाँ गए पनि भयो । सडकको धुलो खाने हामीले त हो ।” हरिप्रसादजीले भने । 

अर्को सहयात्रीले भन्यो, “हामीलाई भन्न मात्र सजिलो हो हजुर । यिनीहरूलाई पनि कम्ती गाह्रो छैन । कहिले किरिया बसेको बेलामा पनि जहाज चढ्नुपर्छ, कहिले बिरामी नभए पनि अस्पतालको आइसीयु कक्षमा लम्पसार भएर सुत्नु पर्छ ।”

पोखरा–७, मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप