मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा

शनिबार, ११ चैत २०७९, १८ : १५
शनिबार, ११ चैत २०७९

काठमाडौँ । कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले कोशी प्रदेशमाथि जित निकाले सँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । 

यससँगै एपीएफ एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन् । कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुविना क्षेत्री, निशा साहले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्री २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिइन् ।

जितसँगै एपीएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । यता कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अङ्कका साथ अङ्कतालिकाको पुछार छ । कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप