बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस केन्द्रित साना ४ दलले गरे मोर्चा गठन

सोमबार, १३ चैत २०७९, २० : १०
सोमबार, १३ चैत २०७९

धनुषा । मधेस केन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । मधेस केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन् । 

मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ । अवधारणा–पत्र सार्वजनिक गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेसको सही प्रतिनिधित्व गर्ने बताए । उनले मधेसको मुद्दाको मसाललाई आफूहरूले अगाडी बढाउने बताए । मधेस आन्दोलनलाई अगाडी बढाउन मोर्चा गठन गरेको उनको भनाइ छ । 

उनले भने – ‘मधेस आन्दोलनका स्वघोषित वारिसहरू सत्ताको स्वाद चाख्नका निमित्त मधेसका मुद्दाहरूलाई बिसाए । र मधेस विरोधीहरू मधेसको मुद्दालाई बर्गल्याए । आजको स्थिति यही छ । त्यसकारण मधेसको मुद्दाको मसाललाई हामी अगाडी बढाउँछौँ । मधेसको मुद्दाको ज्योति, मधेसको आन्दोलनलाई हामी अगाडी बढाउँछौँ भन्ने अठोटका साथ हामी चारवटा पार्टीहरू एक ठाउँमा जम्मा हुने निर्णय गरेका छौँ । एकजुट हुने निर्णय गरेका छौँ । सहकार्य गर्ने निर्णय गरेका छौँ ।’

मोर्चाको अवधारणा–पत्रमा लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न षड्यन्त्र र कुटिल अभ्यासहरूबाट लोकतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध केन्द्रित रही लोकतान्त्रिक मधेसी मोर्चाले लोकतान्त्रिक शक्तिहरूबीच एकजुटताको निमित्त पहल गर्ने भनिएको छ । मोर्चाले त्यस्तै पहिचानमा आधारित रहि प्रदेशहरूको सीमाङ्कन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मानको माग गरेको छ । त्यस्तै राष्ट्रिय सभामा जनसङ्ख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रिय सभाको समान भूमिका लगायतका विषयमा संविधान संशोधनको माग गरेको छ । 

संविधानमा भएकै व्यवस्थालाई समेत अभ्यासमा पन्छाइने र बेवास्ता गर्ने कामहरू भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्म अनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ । मोर्चाले स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनुपर्ने लगायतका विभिन्न मागहरू राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप