मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पुराना वेबसाइटका डाटाबेस स्थानान्तरण गर्न निर्देशन

सोमबार, १३ चैत २०७९, २० : २९
सोमबार, १३ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ । 

कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरू नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिङ्क, फाइललगायतका सामग्रीहरू हटाउन निर्देशन दिएको हो । 

प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले दिएको जानकारी अनुसार, नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटाबेसलगायतका सामग्रीहरू स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनुपरेको हो । “यसरी पुरानो वेबसाइटमा जानुहोस् भनेर फाइल र लिङ्क राख्ने परिपाटीले एकातिर डाटा सर्भरमा भार पर्ने, व्याण्डविथ खपत भइरहने र अर्कोतर्फ पुराना वेबपेजहरुमार्फत् सुरक्षा जोखिम उच्च हुने सम्भावना रहन्छ । यसले आर्थिक तथा प्राविधिकरुपमा समेत ठुलो अर्थ राख्ने भएकोले निर्देशन दिइएको हो ।”

हाल नेपाल सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरूसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेका छन् । यसरी निर्माण भएका वेबपेजहरु समयमा नै प्राविधिकरुपमा अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने तथा कतिपय प्राविधिक तथा सुरक्षासम्बन्धी मापदण्डहरूको उचित पालना नगरिने अवस्था रहेकोले प्रधानमन्त्री कार्यालयले एउटै वेभ टेम्पलेट प्रयोगका लागि समेत तयारी गरिरहेको उनले बताए । ‘सबै निकायले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने किसिमले स्ट्यान्डर्ड  वेब टेम्प्लेटको निर्माणको काम अघि बढेको छ । यो टेम्पलेट निर्माण सम्पन्न भएपछि सबै निकायलाई यही टेम्प्लेटमा आधारित भएर वेबपेज निर्माणका लागि निर्देशन दिइने छ,‘ उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप