शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

सोमबार, १३ चैत २०७९, २१ : ५२
सोमबार, १३ चैत २०७९

बैतडी । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो ।   सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ ।

यहाँका सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।    

उनले भने, “यो महिना कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमित सबै भारतबाट फर्किएका रहेका छन् । भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ ।”  भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रुपमा  स्वदेश फर्किनेको क्रम पनि  बढेको हो ।

नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरुमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए  । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।

 भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए  ।  भारतका विभिन्न कोरोना सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो । उनले भने, “भारतमा दिन प्रतिदिन सङ्क्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ ।”  

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ ।  सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको  छ । सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । 

भारतमा सङ्क्रमण देखिएका सहरहरुसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक  रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “भारतमा कोरोना सङ्क्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकाले सतर्कता अपनाई स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ ।”  

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप