शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सको पानी जहाजमा आगो लाग्दा १२ जनाको मृत्यु

बिहीबार, १६ चैत २०७९, १२ : ३१
बिहीबार, १६ चैत २०७९

मनिला । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् ।  गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् । 

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । जहाजमा आगो लागेपछि यात्रीले हामफालेका प्रकोप व्यवस्थापन विभागका अधिकारी निक्सन अलोन्जोले बताएका छन् ।  बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेका हुनसक्ने बताउँदै हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरेका छन् । पानी जहाजका यात्रीको नामसूचीमा दुई सय पाँच जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन् । 

बाह्र जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले ६ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पुर्याइएको छ ।  तट रक्षकले जारी गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ । 

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप