सुन्दरीजल–जोरपाटीमा मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ ।
सुन्दरीजलबाट जोरपाटीसम्म ११ किमी लम्बाइमा हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो । मेलम्चीको पानी पहिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि यही बाटो भएरै उपत्यकाका अरु स्थानमा जान्छ ।
अहिले भइरहेको पाइपबाट हाल पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ ।
दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले जानकारी दिए । सुन्दरीजलबाट काम सुरु गरेर चावहिलतर्फ गर्दै जाने योजना रहेको उनले बताए ।
एक हजार आठ सय र एक हजार छ सय मिलीमिटर (एमएम) को जिआइ पाइप बिछ्याउन लागिएको हो । पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यका ल्याइएको छ । अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ । उनले भने, “क्षमताअनुसारको पानी ल्याउनका लागि थप पाइप आवश्यक भएको हो ।”
यहाँ पाइप बिछ्याउने काम दुई वर्षमा सकाउनुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने उनले बताए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको आयोजनास्थलमा विभिन्न संरचनामा थप क्षति नपुगोस् भनेर सरकारले अहिले वर्षाको समयमा मेलम्चीको पानी ल्याएको छैन ।
सरकारले पछिल्लोपटक गत मङ्सिरबाट काठमाडौँ उपत्यकामा पानी पुनः वितरण सुरु गरेको छ । वर्षा सुरु नहुँदासम्म पानी नियमित ल्याउन सकिने भए पनि वर्षाको समयमा नसकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा