आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत पाएको एक महिना पूरा, सरकारले अझै पाएन पूर्णता

मङ्गलबार, २१ चैत २०७९, ०६ : २७
मङ्गलबार, २१ चैत २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह नियुक्त भएको करिब दुई महिना हुँदैछ भने उनले विश्वासको मत लिएको एक महिना पूरा भएको छ ।

मुख्यमन्त्री शाहसहित २ मन्त्री माघ २६ गते नियुक्त भएका हुन् । फागुन २१ गते मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेशसभा सदस्यको विश्वासको मत पाएका थिए ।

केन्द्रकै मुख ताकेपछि हालसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । यसअघि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भएका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको थियो । तर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको दुई साताभन्दा बढी समय बिते पनि प्रदेश सरकार विस्तार हुन सकेको छैन ।

मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि आगामी वर्षको बजेट निर्माणको प्रक्रियामा समेत अन्योल देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘कुनै पनि घरमा अभिभावक नभएको अवस्था के हुन्छ आफै अनुमान गर्नुस् । हामी नियमित कार्य त जारी राखेकै छौं । तर ठूलो निर्णयहरु, नीतिगत सवालहरुमा त मन्त्री नहुँदा हामी कसरी अगाडि बढाउन सक्छौं र ?’

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशी पनि बजेट तयारीबारे अन्योल रहेको बताउँछन् । मन्त्रीविहीन हुँदा सामाजिक विकास मन्त्रालय बजेट निर्माणको चरणमा अझै जान नसकेको जोशीको भनाइ छ ।

सत्तारुढ गठबन्धनले अकर्मण्यता देखायो : एमाले

सत्ता गठबन्धनले मन्त्रीमण्डल विस्तारमा ढिलाइ गर्नु गैरजिम्मेवारीपनको नमुना रहेको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको छ ।

नेकपा एमालेका सांसद धर्मराज पाठकले नेपाली कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन जनताप्रति गैरजिम्मेवार देखिएको बताए । उनले भने, ‘मन्त्रीमण्डलले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित छन् । सरकारले सदनलाई बिजनेस दिन सकेको छैन । यो सबै सरकारको अकर्मण्यताको कारण हो ।’

बजेट बनाउने समय आइसक्दा पनि सत्तारुढ गठबन्धनको ध्यान कुर्सीको भागबण्डामै केन्द्रित रहेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका सांसद तथा उपनेता अक्कल रावलले सुदूरपश्चिम मात्रै होइन, सबै प्रदेशको सत्ता समीकरण फेरिएकाले प्याकेजमै भागबण्डा टुंग्याइने बताए । केही दिनमा सबै विषयको टुंगो लाग्ने गरी छलफल अगाडि बढेको उनको भनाइ छ ।

अझै ८-१० दिन लाग्छ : मुख्यमन्त्री शाह

यसैबिच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तारमा अझै ८-१० दिन समय लाग्ने बताएका छन् ।

रातोपाटीसँग उनले भने, ‘हामी सरकारबारे निकै गम्भीर छौं । बजेट निर्माण तयारी सुरु भएको छ । राष्ट्रिय राजनीतिमा नयाँ समीकरण भयो । त्यसैले पनि केही ढिला हुन गएको हो । मन्त्रीमण्डलले छिटै पूर्णता पाउँछ । ८-१० दिनभित्रै पूर्णता पाउनेमा आशा गरौं ।’

सुदूरपश्चिम प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सकिने छ । यहाँ ५३ सदस्यीय प्रदेशसभा छ ।

माघ २६ गते नियुक्त मुख्यमन्त्री शाहसँगै नेपाली कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप