शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरामा कक्षा ८ को परीक्षाफल लज्जास्पद, केही विद्यालयको नतिजा शून्य

अहिलेसम्म शिक्षामा गरेको लगानी खेर गयो  : शिक्षा अधिकृत भट्ट
मङ्गलबार, २१ चैत २०७९, १० : १५
मङ्गलबार, २१ चैत २०७९

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय तहको आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरेको छ । उपमहानगरले आफू मातहतमा रहेका ६२ वटा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ९८७ विद्यार्थीहरूको सोमबार राति परीक्षाफल प्रकाशन गरेको हो ।

‘यसपटकको परीक्षाफल लज्जास्पद नै छ केही विद्यालय निल नै भएका छन्, नमुना विद्यालयहरूको पनि सन्तोषजनक परीक्षाफल छैन’ उपमहानगर शिक्षा महाशाखाका अधिकृत हरिसप्रसाद भट्टले भने ‘यो परीक्षाले विद्यार्थी, अभिभावक र शिक्षकको मूल्याङ्कन मात्रै  होइन उपमहानगर भित्र रहेका हामी कर्मचारीको पनि मूल्याङ्कन भएको छ’ ।

सोमबार राति सार्वजनिक भएको परीक्षाफलमा नेपाल राष्ट्रिय नमुना मावि सिमराबाट १११ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १८ जना मात्रै उर्तीण भएका छन् भने नेरा नमुना मावि बकुलियाका १२५ जना विद्यार्थी मध्ये १८ जना मात्रै उत्र्तिण भएको र केही विद्यालयहरूमा विद्यार्थी उर्तीणको सङ्ख्या शून्य रहेको उपमहानगर शिक्षा महाशाखाले जनाएको छ ।

उपमहानगर अन्तर्गत २ वटा नमुना सामुदायिक विद्यालयका रहेका छन्, जसको भौतिक पूर्वाधार निमार्ण र गुणस्तरीय शिक्षाका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले मात्रै वार्षिक करोडौँ रुपियाँ लगानी गर्दै आएका छन् ।

‘कक्षा ८ को परीक्षाफल हेर्दा अहिलेसम्म हामीले शिक्षामा गरेको लगानी खेरै गएको देखियो’ शिक्षा अधिकृत भट्टले भने ‘अव भोलिका दिनमा राम्रो नजिता ल्याउन हामीले शिक्षकहरूलाई तालिम दिने, दरबन्दी मिलान गर्ने, विद्यार्थी कम भएका विद्यालयहरूलाई मर्च गर्ने र आवश्यकताका आधारमा शिक्षक सरुवा गर्ने काम गर्छौ’

सोमबार राति सार्वजनिक भएको नतिजामा  प्राविधिक त्रुटिले तथ्याकं अपलोड हुन समय लागेकोले कति प्रतिशत विद्यार्थी उक्तिर्ण भए, विद्यालयहरूको यसपटकको नतिजा र विगतको नतिजा के थियो भन्ने तथ्याक आज सार्वजनिक गरिने उपमहानगरले जनाएको छ ।

यसअघि नमुना विद्यालयहरूले समेत आफूखुसी होम सेन्टर सञ्चालन गर्ने, उत्तर पुस्तिका नै परीक्षण नगरी  विद्यार्थीलाई अङ्क दिएको भेटेपछि यस पटक उपमहानगरले कार्यविधि नै बनाएर कक्षा ८ को परीक्षा सञ्चालनमा कडाइ गरिएको थियो ।

यसपटक  १४ वटा विद्यालयहरूमा सञ्चालन भएको परीक्षाको उक्त पुस्तिका नेरा  नमुना मावि सिमराबाट परीक्षण गरिएको थियो जसमा  विषय शिक्षकहरू  बिहान ७ बजेदेखि राति ९ बजेसम्म उक्त पुस्तिका परीक्षणमा खटेका थिए ।

‘यो भन्दा पहिला विद्यालयको आफ्नै होम सेन्टर थियो, कपि आफैँ चेकजाँच गर्ने गर्थे, केही विद्यालयमा कपी नै परीक्षण नगरी अङ्क दिएको समेत भेटिएको थियो, तर यस पटक हामीले शिक्षा क्षेत्रमा सुधारको सुरुवात गरेका हौ’ शिक्षा अधिकृत हरिसप्रसाद भट्टले भने ।

यसपटक जीतपुरसिमरा उपमहानगरले सञ्चालन गरेको परीक्षा प्रणाली अन्य पालिकाहरूले पनि अनुसरण गर्न सके विद्यालय तहको शिक्षामा धेरे सुधारको सुरुवात हुने जिल्ला शिक्षा समन्वय इकाई बाराका प्रमुख श्यामकिशोर यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप