बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ऋण गरेर निजी विद्यालयमै पढाउने स्थितिको अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

मङ्गलबार, २१ चैत २०७९, १६ : २०
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षालाई राज्यले प्राथमिकता दिए पनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारेका हुन् । 

उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको गुनासो गरे । सभामुख घिमिरेले भने, ‘परिवर्तित सन्दर्भमा शिक्षालाई कसरी लैजाने भन्नेबारेमा शिक्षा ऐन आउन बाँकी छ । आएका कुरा पनि प्रभावकारी ढंगबाट कार्यान्वयन हुन समस्या भएको छ । कार्यान्वयन गर्ने सन्दर्भमा आज हामी सामुदायिक विद्यालयलाई सुधार गर्छौँ, बलियो बनाउँछौँ भन्ने नाराका साथ यो सम्मेलन मनाइरहेका छौँ । यसका बाधक के छन्, कुन तहमा के भूमिका छ, त्यसलाई निष्कर्षमा लगेर कार्यान्वयनको प्रतिबद्धता गर्न जरुरी छ । शिक्षालाई राज्यले प्राथमिकता दिएको छ, तर कार्यान्वयनमा विभिन्न समस्या छन्, सामुदायिक विद्यालयमा शिक्षाका लागि सरकारको ठुलो लगानी छ, ठुलो प्रतिशत लगानी सरकारको छ, तर सदुपयोग हुन सकिरहेको छैन की, त्यस दिशामा पनि छलफल हुन जरुरी छ । सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्ने कुरा पाउन आवश्यक छ ।’ 

निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेको तर सामुदायिक विद्यालयमा किन विद्यार्थीको आकर्षण छैन नभएको उनको भनाई छ । ‘यसमा सरकारको भूमिका के हुनुपर्छ ? त्यसमा छलफल हुन जरुरी छ । देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरूलाई सुलभ शिक्षा दिन जरुरी छ । गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य कसरी हुन्छ ? त्यो सोच्न जरुरी छ,’ सभामुख घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप