शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा

बुधबार, २२ चैत २०७९, १९ : ५३
बुधबार, २२ चैत २०७९

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ ठूला र नौ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । 

पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको हो । पश्चिम खण्डमा नौ ठूलो र २१ सानो पुल रहेका छन् । 

तीमध्ये तीन ठूला र १४ सानो सकिएको तथा दुई ठूलो र चार सानो सकाउने गरी काम भइरहेको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए । उनका अनुसार पूर्वी खण्डमा अहिले ठूला चार र साना पाँच पुल सम्पन्न हुने चरणमा रहेका छन् । 

आयोजनाले दाउन्ने खण्डमा भने पुल सुरु नगरेको र त्यहाँ वर्षा पहिले सुरु गर्न नहुने अवस्था रहेको प्रमुख शाक्यले बताए । वर्षा सकिएपछि त्यहाँका पुलको निर्माण सुरु गरिने योजना रहेको उनले जानकारी दिए । 

दुवै खण्डमा निर्माणाधीन पुलमा विभिन्न चरणमा काम भइरहेको छ । आगामी आवसम्म सडक र पुल दुवै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण गर्न बाँकी रहेकामा साना पुल बढी रहेका छन् । अहिलेसम्म ठूलाठूला पुलमा जगको काम भइसकेको छ । उनले भने, “पुलमा मुख्य गरी जगको काम भएपछि माथिल्लो भागमा समय धेरै लाग्दैन ।”

सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ । विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारको तयारी सुरु भएको छ । विसं २०७५ मा सरकारले नारायणगढदेखि बुटवल सडक निर्माण सुरु गरेको थियो । 

एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेशनलाई दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप